• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ? ★   आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि ★   एमालेबाट चार मन्त्री थपेर लुम्बिनी प्रदेशमा सरकार विस्तार ★   सलमान खान गोली प्रकरणका अर्का संदिग्ध पक्राउ परे ★   अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि ★   अर्थतन्त्रमा सुधार आउन थालेको छः मन्त्री भण्डारी ★   “डिशहोम मिसन ८१” एक वर्षको रिचार्जमा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने मौका पक्का

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर



दाङ । रोल्पा नगरपालिका–५ की २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना हुनुभयो । चिकित्सकले उहाँको अवस्था केही जटिल रहेको र शल्यक्रिया गर्नुेपर्ने अवस्था आउनसक्ने भन्दै घोराहीस्थितल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जान सल्लाह दिए ।

मङ्गलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भेटिनुभएकी नेपालीले भन्नुभयो, “सुरुमा घर नजिकैको अस्पतालले दाङको घोराही आउन किन भनेको होला भन्ने चिन्ता लाग्यो । पछि थाहा भयो प्रतिष्ठानले अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि सबै सेवा निःशुल्क गरेको रहेछ ।”

आमा र नवजात शिशुको स्वास्थ्यमा केही समस्या आए अति सघन उपचार कक्ष र सघन उपचार कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरेकाले धेरै सजिलो भएको नेपालीले सुनाउनुभयो । उहाँको शल्यक्रिया गरी सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ । छोरी जन्माएर प्रसूति वार्डमा रहनुभएकी नेपालीले खुसी हुँदै भन्नुभयो, “आर्थिक अवस्था कमजोर रहेकालाई अस्पतालबाट ठूलो सहयोग प्राप्त भएको छ ।”

यही सेवा लिन बुटवल र काठमाडौँका अस्पताल जानुपरेमा ठूलो रकम खर्च हुने थियो । “श्रीमान्ले मजदुरी गरेर कमाएको पैसाले पुग्ने नै थिएन”, नेपालीले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासकी २८ वर्षीया सुगिनी चौधरी पनि गत मङ्गबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिनका लागि भर्ना हुनुभयो । दोस्रो पटक गर्भवती हुनुभएकी उहाँले पहिलो बच्चा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा जन्माएको बताउनुभयो । रोल्पा नगरपालिका–७ का २७ वर्षीया करिस्मा झाँक्री पनि प्रसूति सेवा लिनका लागि सोही अस्पतालमा आउनुयो । रोल्पा अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुग्नुभएकी झाँक्रीलाई चिकित्सकले जटिल अवस्था रहेकाले प्रतिष्ठानमा जान सल्लाह दिएका थिए ।

सीता र सगुनी मात्र होइन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार गत वैशाखदेखि भदौ ३० गतेसम्म एक हजार तीन सय बढीले प्रसूति सेवा लिएका छन् । सो अवधिमा आठ सय ८० जनाले सामान्य, तीन सय ७९ जनाले शल्यक्रिया र एक सय २० जनाले जटिल प्रकृतिको प्रसूति सेवा लिएको उहाँले बताउनुभयो ।

शिक्षाध्यक्ष तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त लामिछानेले अहिले प्रतिष्ठानमा प्रसूति सेवा लिनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । दैनिक १५ देखि १८ जनासम्म प्रसूति सेवा लिनका लागि आउने गरेमा चारदेखि पाँच जनाको शल्यक्रिया गरिन्छ । प्रसूति रोग विशेषज्ञ डा लामिछानेले सो सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो । प्रसूति सेवा लिन आउनेमध्ये केही १६ देखि १७ वर्ष उमेर समूहका पनि छन् ।

सानै उमेर आमा बन्नेलाई बच्चा जन्माउँदा समस्या हुने र शल्यक्रिया गर्नुपर्ने तथा पछि गएर पाठेघर खस्ने समस्या बढ्ने डा लामिछाने बताउनुहुन्छ । प्रसूति सेवा लिनका लागि लुम्बिनी प्रदेशका दाङ, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची तथा कर्णाली प्रदेशबाट समेत यहाँ आउने गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावकारी, चुस्तदुरुस्त बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले गत वैशाख १ गतेदेखि आमासुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको प्रसूति सेवा निःशुल्करुपमा सञ्चालन गरिएको बताउनुभयो ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरवृद्धि गरी सरकारले पाँच वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको हो । प्रतिष्ठानमा ३७ विभिन्न रोग विशेषज्ञ चिकित्सक र २३ मेडिकल अधिकृतले बिरामीलाई सेवा दिँदैआएका छन् । रासस