• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता



काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार नेपाल भ्रमणमा आउनुभएका चीनका उच्चस्तरका नेता उहाँले बिहानैदेखि उच्चस्तरीय भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मंगलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।

सो अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पार्नुभएको थियो ।

चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो । नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्षले नेपालको एलडिसी स्थितिबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको समेत जनाएको छ ।

यसैगरी मंगलबार बिहान अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भयो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । उक्त अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशबीच भएका सहयोग र घनिष्ट सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाले दुई देश बीचको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताउँदै चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभएको थियो ।

मंगलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष लीबीच भेटवार्ता भयो । संसद् भवन नयाँ बानेश्वरमा उहाँहरुबीच भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष लीबीच मंगलबार प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भयो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागी हुनुहुन्थ्यो ।

सोही दिन दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो ।

सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष लीले आज बुधबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा बुधबार बिहान भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

अध्यक्ष लीको नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।