• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छ: प्रधानमन्त्री ★   जब पन्तले धोनीको सिग्नेचर हेलिकप्टर शट खेले… ★   प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! ★   १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री ★   समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछ: उद्योगमन्त्री भण्डारी (अन्तरवार्ता) ★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?



नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव नौ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको अंश १४ दशमलव पाँच प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३ दशमलव सात प्रतिशतले बढेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आव २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल एक सय ९७ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।

विसं २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् रु ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु ३३ अर्ब, आयरल्याण्डबाट रु १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव पाँच प्रतिशत औद्योगिक क्षेत्रमा र ३९ दशमलव चार प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० दशमलव आठ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव नौ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव नौ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४ दशमलव सात प्रतिशत रहेको छ ।