• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?



नेपाल राष्ट्र बैंक

काठमाडौँ । नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

कूल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३ दशमलव नौ प्रतिशत, सञ्चितिको ३१ दशमलव छ प्रतिशत र कर्जाको अंश १४ दशमलव पाँच प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३ दशमलव सात प्रतिशतले बढेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आव २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल एक सय ९७ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ ।

विसं २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् रु ७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु ३३ अर्ब, आयरल्याण्डबाट रु १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६० दशमलव पाँच प्रतिशत औद्योगिक क्षेत्रमा र ३९ दशमलव चार प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० दशमलव आठ प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव पाँच प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसैगरी कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव नौ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४ दशमलव नौ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४ दशमलव सात प्रतिशत रहेको छ ।