काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।
खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए । यता, खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे । तर, कतार ३–१ ले विजयी बन्यो ।
जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुवात गर्दै ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।
यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । यस समूहमा नेपालसँगै कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । समूह विजेता सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ ।