• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा

काष्ठपाटी कुँद्ने शिक्षक !



शिक्षक पुष्पराज जोशी र उहाँको कला ।

बझाङ : अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक हुनुहुन्छ लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी ।

मुलुकमा परिवर्तनसँगै शिक्षा क्षेत्रले फड्को मारेको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरामात्रै भयो । त्यससँगै खरीपाटी पनि पुरानै । तर यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहनुभएको छ पदमराज ।

मुलुकभरका अधिकांश विद्यालय पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाइ हुन्छ । केही विद्यालयमा यसरी पढाइ हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहनुभएको छ । उहाँको कलाशैलीले नै कतिपय विद्यार्थी निकै सिपालु भइसकेका छन् ।

बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसक्नुभएको छ । बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उहाँलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरि नै घुमाए । उहाँले आफ्नो सीप जुन–जुन ठाउँ जानुभयो, त्यो ठाउँमा सिकाउँदै पनि आउनुभयो ।

२०५१ देखि सुरू गरिएको काष्ठपत्र

जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न सुरू गर्नुभयो । विसं २०५१ मा विद्यार्थीलाई पढाउन सुरू गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ मा १२ कक्षा पास गरी ढम्कनेबाट सरूवा हुनुभयो । दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उहाँलाई काष्ठ कुँद्न सहज भयो । उहाँले काठ कुँद्दा वरिपरि हेर्नेको घुइँचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरू अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदिरहनुभयो ।

सामान्य परिवारमा जन्मनुभएका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीका रूपमा बाजुरा पुग्नुभएको थियो । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उहाँलाई जागिर लगाए । मेहेनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो ।

बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुँदेका काष्ठपाटीहरू सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए ।

कला देखेर युनिसेफका दमन रूपाखेती र राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०–४० जिल्लामै घुमेर आफ्नो सीप साट्ने अवसर पाउनुभयो । उहाँलाई झापामा भ्रमणमा गएको बेला रूपाखेतीले नै सरसामग्री जुटाएर छिटो तस्वीर कोर्न सिकाउनुभएको थियो । त्यसपछि जोशीको काष्ठपाटी कुँदाइको गति बढ्दै गयो । जोशी रूपाखेतीलाई गुरू मान्नुहुन्छ ।

बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो । अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पढाउने, कुँद्न सिकाउने गर्नुहुन्छ । उहाँको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाउनु हो । “मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर विद्यार्थीलाई स्वतन्त्ररूपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए त्यसैमा खुसी हुन्थेँ”, उहाँ भन्नुहुन्छ ।

विसं २०७४ मा पुष्पराज बझाङ सरूवा हुनुभयो । बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा हुनुहुन्थ्यो । तर स्थानीय सरकारले नै चासो नदिएपछि उहाँ निरास हुनुभयो । अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उहाँले कुँदेका दर्जनौँ काष्ठपाटी रङरोगन गर्नै नपाएर थन्किएका छन् । “आफ्नै ठाउँका बालबालिकालाई पढाउन सुरूमा धेरै पाटीमा खोपियो”, उहाँ भन्नुहुन्छ, “अहिले रङकै अभावले कुहिन लागेका छन् ।” जीवनको उत्तराद्र्धमा प्रवेश गर्नुभएका जोशी नमूना विद्यालय बनाउन चाहनुहुन्छ । तर कुनै निकायबाट पनि सहयोग पाउनुभएको छैन ।

लक्ष्मी आधारभूत विद्यालयमा एक सय पाँच विद्यार्थीका लागि पाँच शिक्षक छन् । दुई स्थायी दरबन्दी, दुई राहत र एक इसिजी । पुष्पराजको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने हो । कुँदेका काष्ठपार्टीमार्फत विद्यार्थीलाई पढाउने गर्नुहुन्छ ।

बाजुरामा उहाँको कलाले स्वर्ण पदकसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उहाँ बताउनुहुन्छ । उहाँको घरमा उहाँजस्तै सिपालु सन्तति पनि छन् । उहाँको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै रु सात लाख पुरस्कार जित्नुभएको थियो । परिवारका अन्य सदस्यले पनि काष्ठपाटीप्रति निकै चासो दिने गरेका जोशी बताउनुहुन्छ ।  रासस