• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने



काठमाडौँ । दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।

सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा आठ हजार टिप्पर फोहर व्यवस्थापन गर्नुपर्ने छ । विना अवरोध नियमित फोहर व्यवस्थापन गर्न सकेको अवस्थामा सबै फोहर व्यवस्थापनमा सो समय लाग्नेछ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चार बुँदे सहमतिपछि बिहीबारबाट साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो ।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताउनुभयो । सहमतिपछि बिहीबारबाट नै दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम पनि सुरु भएको छ । उक्त स्थानमा पनि अझै पाँच सय टिपर फोहर रहेको बताइएको छ । लामो समयदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लान नपाएपछि कामपाले टेकुमा थुपारी प्लािस्टकले छोपेर राखेको थियो । हाल सञ्चालनमा रहेको फोहर बोक्ने टिपरको सङ्ख्यामा वृद्धि गरी केही दिनमा नै दैनिक तीन सय गाडीले फोहर विसर्जनको तयारी रहेको छ ।

अहिले उपत्यकाको विभिन्न स्थानमा अस्तव्यस्त रुपमा रहेको फोहरको विसर्जन हुने वित्तिकै त्यसपछि बञ्चरेडाँडामा लगिने सबै फोहर पूर्ण रुपमा वर्गीकरण भएर मात्रै लाने जनाइएको छ । घरबाट फोहर उठाउँदा स्रोतमै वर्गीकरण गर्ने विषयलाई महत्वका साथ हेर्ने र तोकिएको बारअनुसार फोहरको वर्गीकरण नभए यसअघि भनेझै कारबाही प्रक्रिया अघि बढाइने कामपाले चतावनी दिएको छ ।

लामो समयसम्म रोकिएको फोहर व्यवथापनको लागि नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर निर्माण सेवालगायत संस्थाले काठमाडौँको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लानका लागि निःशुल्क सेवा प्रदान गरेका छन् ।

बिहीबार उक्त समितिले एक हजार आठ सय टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका थिए । समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको समितिका सचिवालय सदस्य रत्नमणि पाठकले जानकारी दिनुभयो । फोहर व्यवस्थापनका लागि अवरोध गर्ने शृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै कामपाका प्रमुख साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा सबैले जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।

उपत्यकाको फोहर व्यवस्थापनको सवालमा सिसडोल, बञ्चरेडाँडाका स्थानीय बीच पटक पटक सहमति भएको छ । पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समय समयमा अवरोध गर्दै गर्दा काठमाडौँमा फोहरको डङ्गुर थुप्रने गरेको छ । स्थानीयले सहमतिपछि पनि अवरोध गर्ने गरेकाले हालको सम्झौता दीर्घकालिन नभएको भन्दै कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन स्थान पहिचानको काम भने जारी राखेको छ ।