• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

गौतमश्री सहकारी काण्डः फरार अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किए



काठमाडौं । राजधानीको कालीमाटीमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम नेपाल फर्किएका छन् । एक सातादेखि सहकारी बन्द गरेर अध्यक्ष गौतम सहितका सबै संचालक एकाएक फरार भएपछि सहकारीमा निक्षेप रहेका व्यक्तिहरु आक्रोशित र चिन्तित भएका थिए ।

तर अध्यक्ष गौतम भारतबाट नेपाल फर्किएका छन् । उनी प्रहरीको सुरक्षा बीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा आइपुगेका थिए । उनले सहकारीको कार्यालयमा उपस्थित निक्षेपकर्ताका सामुन्ने आफूले सहकारी विभाग समेतका निकाय र ठूला निक्षेपकर्तासँग कुरा गरिसकेको बताउँदै सबैको पैसा क्रमिक रुपमा भुक्तानी गरिदिने बचन दिएका थिए ।

उनले तर यसका लागि हतार नगर्न र केही समय धैर्य गर्न आग्रह समेत गरेका थिए । गौतमले आफूले आफ्नो सम्पत्ति बेचेर भए पनि बचतकर्ताको सबै रकम फरफारक गर्ने बताएका थिए ।

अध्यक्ष गौतमले आफू सहकारीकै भवनमा बस्ने र कहीँ नजाने बताएर बचतकर्तालाई आश्वस्त पार्न खोजेका थिए । आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण आइतबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बुझाउने पनि उनले बताए ।