• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   शौचालयमा मृत भेटिइन् डा प्रतिभा ★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन



जुम्ला । स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताउनुभयो ।

राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने विश्वास व्यक्त गर्नुभयो । “दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नुपर्ने काम कर्णाली प्रतिष्ठानको काँधमा आएको छ । अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य साबित हुन्छ”, स्वास्थ्य राज्यमन्त्री केसीले भन्नुभयो ।

जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासका लागि राज्यको अझै नजर नगएको बताउँदै सबै राजनीतिक दलको सहयोग, समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको स्पष्ट पार्नुभयो । उहाँले प्रतिष्ठानको बहुवर्षीय शैक्षिक भवन निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रतिष्ठानको कार्यबाट आफू सन्तुष्ट भएको बताउनुभयो । अक्सिजन प्लान्टबाट एक दिनमा एक सय ६० वटा सिलिन्डर भरिने भएको छ । हाल दिनमा ३०÷४० वटा सिलिन्डर भर्ने गरिएको प्रतिष्ठानका उपकुपति डाक्टर मङ्गल रावलले जानकारी दिनुभयो । प्रतिष्ठानका रजिष्ट्रार नृर्पेन्द्र महतले भवन अभावका कारणले गर्दा १३ वटा घर भाडामा लिएर काम गर्नु परेको बताउनुभयो ।

डायलासिस सेवा अब जुम्लामै

यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री केसीले आज प्रतिष्ठानलाई डायलासिस उपकरण मेसिन उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गौला रोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई पाँच सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “अस्पतालमा मिर्गौला रोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिनसकेका थिएनौँ । अब जुम्ला अस्पतालमै यो समस्या समाधान हुने भएको छ ।”

अस्पतालले आकस्मिक सेवा, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया सेवा, प्रसूति सेवा, ब्लड बैंक, समुदायमा स्वास्थ्य सेवा, विस्तारित सेवा, एम्बुलेन्स सेवा र टेलिमेडिसिन सेवा दिँदै आएको प्रतिष्ठानले जनाएको छ । यस्तै मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पताललाई पनि चार थान डायलायसिस उपकरण उपलब्ध गराएको छ । रासस