• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा ★   निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री ★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा



रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।

पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो । उहाँका १६० माहुरी घार छन् । उहाँका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँका माहुरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताउनुभयो ।

उहाँले पोखरा घरमा, दान र माहुरी खर्कससँगै सिस्ने–५ को रुवाबाङमा माहुरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारको माहुरी सबै अरिङ्गालले सकेको उहाँको भनाइ छ । यस्तै पोखराकै अर्का माहुरीपालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको बताउनुभयो ।

उहाँले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताउनुभयो । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाउनुभयो ।

पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताउनुभयो । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।

यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिङ्गालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।