• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो

अरिङ्गालले सताउँदा माहुरीपालक किसान समस्यामा



रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।

पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो । उहाँका १६० माहुरी घार छन् । उहाँका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँका माहुरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताउनुभयो ।

उहाँले पोखरा घरमा, दान र माहुरी खर्कससँगै सिस्ने–५ को रुवाबाङमा माहुरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारको माहुरी सबै अरिङ्गालले सकेको उहाँको भनाइ छ । यस्तै पोखराकै अर्का माहुरीपालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको बताउनुभयो ।

उहाँले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताउनुभयो । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाउनुभयो ।

पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताउनुभयो । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।

यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिङ्गालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।