• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह



कञ्चनपुर । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ ।

विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग्गा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा गरी ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ”, नगर प्रमुख पदम बोगटीले भन्नुभयो, “विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाउन सम्बन्धित पक्षसँग सहजीकरणका लागि अगाडि बढाइरहेका छौँ ।”

उक्त जग्गा विमानस्थलका नाममा रहनेगरी आवश्यक सहयोग र सहजीकरणका लागि संस्कृृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत ध्यानाकृष्ट गरिएको उहाँले बताउनुभयो । विसं २०३६ देखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वका बेला सुरक्षाका कारण देखाउँदै विसं २०५६ देखि बन्द रहेको छ ।

पश्चिमी प्रवेशद्वार भारतको राजधानी नयाँ दिल्लीबाट ३०० किलोमिटरको दुरी र भारतको औद्योगिक नगर रुद्रपुरबाट १५० किलोमिटरको दुरीमा विमानस्थल पर्दछ । विमानस्थल निर्माण भएमा भारतीय पर्यटकलाई तान्न सकिने नगर प्रमुख बोगटीको भनाइ छ ।

यसअघि विमानस्थल निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच त्रिपक्षीय सम्झौता गरिएको थियो । मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता गरिएको थियो ।

विमानस्थल निर्माणका लागि कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग तीन वर्षमा विमानस्थलको निर्माणका कार्य पूरा गर्नका लागि रु ४५ करोड ६६ लाख ७१५ मा ठेक्का सम्झौता भई कार्य अगाडि बढाइएको छ ।

हाल विमानस्थलमा रहेको एक हजार मिटर र राष्ट्रिय निकुञ्जसँगैको रत्न बाटिका र नेपाली सेनाको खेल मैदान रहेको ६६२ मिटर गरी एक हजार ६६२ मिटरमा धावनमार्ग निर्माण गरिने योजना रहेको छ ।