• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo

काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुन्छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गर्नुभएको छ ।

शनिवार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो । उहाँले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गर्नुभयो । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति र सबभन्दा सबल शक्तिको रुपमा, सबभन्दा बलियो शक्तिको रुपमा पुष्पलाले स्थापना गर्नुभएको नेकपा एमाले यो ठाउँमा छ । म यस पार्टीको अध्यक्ष भएको हैसियतमा भन्न चाहन्छु, पुष्पलाल र अरु अग्रजहरुले देखाएको बाटोबाट अलिकति पनि विचलित हुनेछैन । नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने, फेरि आज संकल्प दोहा¥याएको छु ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाउनु भयो । उहाँले भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उहाँले काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएपनि काँग्रेसले एउटा विज्ञप्तीमार्फत निकाल्न नसकेको बताउनु भयो । उहाँले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि काँग्रेसले आफ्नै अग्रजहरुको सम्मान गर्न नसकेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस धेरै पटक सत्तामा आयो । भीमदत्त पन्तलाई त उसले शहीद मानेन नै । किनभने उसैले टाउको कटाएको थियो । भीमदत्त पन्तलाई काँग्रेसका सभापति मात्रिकाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा २०१० सालमा टाउको काटेर झुन्ड्याइएको थियो । त्यसकारण काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ । दुर्गानन्द झा, काँग्रेसको कार्यकर्ताको हैसियतले महेन्द्रको गाडीमाथि बम हानेका थिए । उनले हानेका थिए थिएनन् आफ्नो ठाउँमा छ, हानेका थिएभने पनि परिवर्तनको लागि हानेका थिए । तर नेपाली काँग्रेसले त्यसको जिम्मेवारी कहिल्यै लिएन । उनलाई जेलमा राखेर फाँसी दिइयो तर उनलाई कहिल्यै शहीद घोषणा गरिएन ।

नेपाली काँग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरु फाँसीको सजाय सुनाइएको थियो काँग्रेसले त्यो कुरा गरेन । म आज कसैको आलोचना गर्न चाहन्न तर सत्ता स्वार्थका लागि, राजनीतिक स्वार्थका लागि यस्ता परिस्थिति पनि देखिए जहाँ,आफ्नै पार्टीका आदरणीय नेताहरुलाई विधिवत फैसला सुनाएर फाँसीको सजाय दिएर मारियो । त्यसको बिरुद्ध एउटा वक्तव्यसमेत दिन सकेन । प्रतिक्रिया दिनसम्म सकेन । त्यो नेपाली काँग्रेसले गर्न नसकेको कुरा दुःख र शर्मनाक विषय हो ।’

अध्यक्ष ओलीले गिरिजाप्रसाद कोईराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लाग्नुभएको दाबी गर्नुभयो । ४४ औं स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले संस्थापक नेता श्रेष्ठको प्रतिमामा माल्यार्पण र पुष्पगुच्छा अर्पणसमेत गर्नुभएको थियो ।