• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो



कास्की । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । संघीय राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको सो आयोजनाका ठूलो मानिन्छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका0को रु पाँच अर्ब अनुदान सहयोगमा सो आयोजना विसं २०७६ देखि पोखरामा सुरु भएको थियो ।

पोखरेलीले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलोपानी पिउनुपर्ने बाध्यतासमेत अन्त्य हुँदैछ । पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउनेयोग्य बनाउने रहेको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भवायर ट्याङ्की’ र मुहानमा केही काममात्र बाँकी रहेको बताइन्छ । जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ । प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाइ भएको छ । कोलपाटनमा एयरपोर्ट नजिकको रिजर्भवायर ट्याङ्कीको कामसमेत अहिले अघि बढ्न सकेको छैन ।”

आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ । पोखराभित्रका तीनवटा ठूला रिजर्भवायर ट्याङ्कीमध्ये फूलबारी र मालेपाटनको सकिएको छ । इन्जिनियर दासका अनुसार ‘रिजर्भवायर ट्याङ्की’को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलसँगैको सो ट्याङ्कीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो । यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन् । यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काममध्ये अब १५÷१६ किमी मात्र बाँकी छ ।

उहाँले भन्नुभयो, “केही प्राविधिक समस्याले रोकिएको बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुनेछ र शुद्ध पानी उपभोक्ताकामा पुग्नेछ, प्राविधिक समस्या समाधानलगत्तै आयोजना सम्पन्न हुन पाँच÷छ महिना समय लाग्छ ।”

आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ ।

हाल साविक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ । मर्दी मुहानबाट २० र १६ इञ्चका पाइपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दीको पानी वितरण हुन्छ ।

सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढेको थियो ।

यसरी सफा बनाइने छ पानी

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ ।

पानी सफा बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङ्की’ ९ढुङ्गा, बालुवा हटाउने पोखरी० निर्माणको काम सकिनै लागेको छ । मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ ।

त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छवटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की ९स्लोस स्याण्ड फिल्टर० र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ ।

सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङकी निर्माण गरेको हो । खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । तीमध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसैगरी कालीखोला र भोटीखोलाका पाँच÷पाँच हजार ग्राहक छन् । दुई हजार घरमा बोरिङको पानी पु¥याइएको छ ।

मुहान संरक्षणमा अझै उदासीनता

पोखरामा ल्याइने पानी शुद्धीकरण गर्ने योजना कार्यान्वयन भइरहँदा मुहानको संरक्षणमा भने अझै उदासीनता देखिन्छ । अहिले पनि मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोरमैला विर्सजन हुँदै आएको छ । हिउँदमा नदीजन्य पदार्थको उत्खननका कारण मुहान प्रदूषित हुने गरेको छ ।

पोखरामा आपूर्ति भएको पानी सफा राखिराख्नका लागि अहिलेको स्थानबाट पाँच किमीमाथि मुहान सार्नुपर्ने आवाज उपभोक्ताको छ । हालको खानेपानीको मुहानलाई माथि स्थानान्तरण गर्दा पानी सफा बनाउन थप सहयोग पुग्ने बताइन्छ ।

विगतमा अहिलेको मुहानभन्दा माथि थोरै मात्र बस्ती थियो । पछिल्लो समय तीव्र सहरीकरणका कारण मानव बसोबास बढेसँगै मुहान दूषित हुने समस्या पनि बढ्दै छ । पोखरा उद्योग वाणिज्य सङ्घको अग्रसरतामा केही वर्ष अघि मुहान सफा राख्नका लागि विभिन्न छ स्थानमा शवदहनगृह निर्माण गरिए पनि ती स्थलको अहिले पनि सबै ठाउँमा प्रयोग गरिएको छ ।

शवदहनस्थल निर्माणमा नेतृत्व गर्नुभएका उद्योगी यदुनाथ अधिकारी खानेपानीको हालको मुहान त्यसभन्दा माथि नर्सादासम्म पोखराको पानी शुद्ध हुन नसक्ने बताउनुहुन्छ । हाल कम मात्र मानव बसोबास भएको स्थानबाट पानी ल्याउँदा मात्र सफा पानी उपभोक्ताले प्राप्त गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हालको मुहान स्थानान्तरणका लागि हामीले पटक–पटक आवाज उठाएका छौँ तर सुनुवाइ भएको छैन । शुद्ध पानी पोखरामा आपूर्तिका लागि मुहाननै सार्नुको विकल्प छैन ।” खानेपानी संस्थानले भने प्राविधिक हिसाबले कठिनाइ नपर्ने भए पनि जलाधार क्षेत्र कम हुने भएकाले स्थानान्तरणको काम नभएको जनाएको छ । मुहानभन्दा केही माथिमात्र इदी खोला मर्दीमा मिसिन्छ । सोही कारण पानी आपूर्ति कम हुने भएकाले मुहान सार्न नसकिएको संस्थानले जनाएको छ ।

गाउँपालिकाले माग्यो वातावरणीय सेवाको भुक्तानी

मर्दी खोलामाछापुच्छ्रे गाउँपालिकाका छ वडा हुँदै बग्छ । मर्दीखोलाको पानी दुईवटा पाइप मार्फत खानेपानी संस्थानले पोखरामा वितरण गर्ने गरेको छ । मर्दीको पानी पोखराको विन्ध्यवासिनी मन्दिर नजिकको रिजर्भ वायरमा जम्मा गरेर उपभोक्तामा पठाइन्छ ।

गाउँपालिकाले आफ्नो प्रमुख प्राकृतिक सम्पदा मर्दीको उपभोग गरेबापत खानेपानी संस्थानसँग वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अवलम्वन गर्न माग गरेको छ । संस्थानले मर्दीको पानीबाट बर्सेनि अर्बौं राजस्व सङ्कलन गरे पनि मर्दी क्षेत्रको विकासमा ध्यान नदिएको भन्दै आगामी वर्षको नीति कार्यक्रममा सो सिद्धान्त लागू हुुनुपर्ने माग गरेको हो ।

पानी प्रयोगबापत निश्चित प्रतिशत राजस्व गाउँपालिकाले पाउनुपर्ने माग स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाको प्रमुख प्राकृतिक स्रोतको उपभोग गरेबापत खानेपानी संस्थानले प्रभावित क्षेत्रका लागि सहयोग गरोस् भन्ने हाम्रो माग हो । वातावरणीय सेवाको भुक्तानीको सिद्धान्त विश्वका धेरै देशमा प्रचलित छ । संस्थानले आम्दानीको निश्चित प्रतिशत पालिकालाई दिनुपर्दछ ।” यसअघि पनि यस विषयमा आवाज उठेपनि यसपटक गाउँपालिकाले आफ्नो नीति कार्यक्रममै यस विषयलाई समेटेको छ । रासस