• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ



एजेन्सी । स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।

उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओएले जनाएको छ ।

उपचारका लागि जमानतमा विदेश जान अनुमति पाएका मुसर्रफ सन् २०१६ देखि संयुक्त अरब इमिरेट्समा बस्दै आएका थिए । त्यतिबेला उनीमाथि देशद्रोहको मुद्दा चलिरहेको थियो । पछि उच्च अदालतले उनीविरुद्धको मुद्दा खारेज गरेको थियो ।

गत साता सञ्चारमाध्यमहरूमा उनको बिग्रिएको स्वास्थ्यस्थितिबारे समाचार सार्वजनिक गरेका थिए । ती समाचारको खण्डन गर्दै मुसर्रफको परिवारले स्वास्थ्यलाभ हुने कठिन चरणबाट उनी गुज्रिरहेका बताएका थिए ।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्वराष्ट्रपतिको स्वास्थ्यलाई दृष्टिगत गरी उनको स्वदेश आगमनमा कुनै अवरोध नहुने बताएका छन् । विगतका घटनालाई लिएर उनलाई घर फर्कनबाट रोक्न नहुने बताउँदै ‘अल्लाहले उनलाई स्वस्थ पारुन् ताकि उनले आफ्नो बाँकी जीवन सम्मानका साथ बिताउन सकून्’ रक्षामन्त्री आसिफले ट्विट गरेका छन् ।

सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सरकारलाई अपदस्थ गरी जनरल मुसर्रफले रक्तपातविहीन सैनिक विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । उनले पछि आफूलाई राष्ट्रपति घोषणा गरे । सन् २००८ को आम निर्वाचनमा पराजित भएपछि नयाँ संसद्ले आफूमाथि महाभियोग लगाएर पदच्युत गर्ने निश्चित भयो र त्यसबाट बच्न उनले पदत्याग गरेका थिए ।