पूजामाथी बलात्कार गर्नेलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

  

काठमाडौं । गेसपेपर किन्न बैतडीको पाटन बजारमा गएकी पूजा बोहोरालाई ब'लात्कार गर्नेलाई साढे ११ वर्ष कैद सजाय तोकेको छ। सर्वोच्च अदालतले सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय तोकेको हो।

सरकार र सर्वोच्चले दोषी दुवैले बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उनीहरूलाई ११ वर्ष कैद सजाय र बोहोरालाई क्षतिपूर्तिको फैसला गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालले बताए।

भट्ट र अवस्थीबाट जनही साढे २ र सरकारले पाँच लाख क्षतिपूर्ति भराउन उक्त इजलासको फैसलामा उल्लेख छ। कैद भने बलात्कार गरेकोमा साढे ६ वर्ष र सामूहिक बलात्कार गरेकोमा पाँच वर्ष थपेर साढे ११ वर्ष पुर्याइएको हो।

जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो।

२०६८ चैत ७ एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।