• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

प्रवासमा नि:शुल्क सङ्गीत कक्षा, उत्पादन स्वदेशमा



काठमाडौं । नेपाली साङ्गीतिक कार्यक्रममार्फत कला र संस्कृतिको विस्तार र प्रवर्द्धनका लागि पछिल्लो समय विश्वभर नै कार्यक्रम हुने गरेको छ । ती कार्यक्रमको प्रभावकारिताका बारेमा चर्चा पनि त्यसैगरी हुने गरेको सुनिन्छ । तर गायक तथा सङ्गीतकार केशव पौडेलको विषय भने योभन्दा फरक छ । उहाँले अमेरिकामै कैयौँ नेपाली विद्यार्थीलाई नि:शुल्क सङ्गीत पढाइरहनुभएको छ ।

“गीतसङ्गीत त भइहाल्यो, यो नेपाली भाषा सिकाउने उद्देश्य पनि हो । हामीले कक्षामा अङ्ग्रेजी बोल्न दिदैनौँ । यसले नेपाली भाषामा नयाँ पुस्तालाई अभ्यस्त बनाउँछ भन्ने हाम्रो अपेक्षा पनि छ । विगतमा नेपाली भाषाकै लागि त्यहाँ आइपुग्नेले अहिले गीत, सङ्गीतमै आफ्नो भविष्य देख्न थालिसकेका छन् । यो हाम्रा लागि ठूलो खुसीको कुरा पनि हो”, गायक पौडेलले भन्नुभयो ।

अमेरिकाको ओहायो सहरमा उहाँले गीतसङ्गीतको कक्षा सञ्चालन गरिरहनुभएको छ भने उहाँका अरु साथीहरुले नृत्य र यससँगै भाषाको पनि कक्षा सञ्चालन गरिरहनुभएको छ ।

उहाँका अनुसार सात सहरमा रहेका यस्ता कक्षाले नेपालीलाई आकर्षित पनि गरिरहेको छ । सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरसम्मका नेपालीहरु कक्षामा सहभागी छन् । उनीहरुले समय व्यवस्थापन गरेका छन् र निकै चाखसित नेपाली गीतसङ्गीतमा रमाएका छन् ।

गीतसङ्गीत मन नपराउने मानिस कमै होलान् । अधिकांशलाई त गीत गाउने, बाजा बजाउने सोख नै हुन्छ, जुन स्वाभाविक पनि हो । अमेरिकास्थित संस्था इन्ट्रा फाउन्डेसनको व्यवस्थापनमा ओहायोमा रहेका नेपालीको यो सङ्गीत कक्षा हेर्दा सहभागीहरु नेपालमा अधुरा रहेका सपना अमेरिकामा पूरा गर्ने अवसरका लागि तल्लीन देखिन्छन् । यहाँ समय नभएर या आर्थिक आदि कारणले आफ्नो गीतसङ्गीतको भोक मेटाउन नसकेकाहरुले अहिले यसमा लागिपरेका छन्, भन्नुहुन्छ पौडेल ।

“प्रवासमा आएर आफ्नो सपना पूरा गर्ने काममा अगाडि बढ्न पाउँदा सहभागीहरु खुसी मात्र हुनुहुन्न, उहाँहरु यस क्षेत्रको भविष्य पनि देख्ने गर्नुभएको छ । यी कक्षाका विद्यार्थीले गीतसङ्गीतमा आफूहरु लाग्ने तयारी नै थाल्नुभएको छ । म पनि प्रवासमा आएर आफ्नै पेसाको काममा लाग्न पाउँदा उहाँहरुभन्दा कम खुसी छैन, निकै नै उत्साहित छु”, गायक पौडेलले भन्नुभयो ।

नेपालमा आफ्ना दुईसहित फुटकररुपमा तयार गरिएका २५ गीतिसङ्ग्रहमा स्वर र सङ्गीत दिइसक्नुभएका गायक पौडेल अमेरिका पुगेर प्राविधिक शिक्षातर्फ आकर्षित हुनुभयो । विसं २०७६ मा अमेरिका पुगेपछि विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरस महामारीले केही समय विश्राम लिनु परे पनि पनि गायक पौडेल पछि इन्ट्रा फाउन्डेसनसँग जोडिनुभयो र त्यसयता सङ्गीत सिकाउने शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

“म सङ्गीतबाट टाढिन नसकेका सन्दर्भमा त्यही काम पाएँ । प्रवासमा आएर सङ्गीत नै सिकाउन पाउँदाको खुसीलाई साधारण शब्दमा मात्र व्यक्त गर्न म सक्दिन । अहिले यो सामान्य सुनिए पनि केही वर्षपछि यसको नतिजा देखिनेछ कि यसबाट अमेरिकामा पनि धेरै नेपाली कलाकार उत्पादन हुनेछन् र आफ्ना प्रतिभा प्रस्फुटन गरेर देखाउने छन्”, उहाँले भन्नुभयो ।

रेडियो नेपालमा विसं २०६० मा बालगीत, २०६१ मा उपत्यकाव्यापी बालगीत प्रतियोगिता, २०६६ र ६७ मा जागरण गीत, २०७० मा आधुनिक गीतमा उत्कृष्ट हुनुभएका गायक पौडेले देश छाडेर पनि सङ्गीत छाड्न सक्नुभएको छैन । उहाँले पछिल्लो तीन वर्षमा तीसको हाराहारीमा गीत तयार गर्नुभएको छ । नेपाल आउँदा प्राय: गीत लिएर नै यहाँ आउनुहुन्छ ।

विविधि कारणले प्रवास जानु परे पनि गीतसङ्गीतप्रतिको आफ्नो सक्रियतालाई उहाँले घट्न दिनुभएको छैन । यतिखेर पनि उहाँले १० वटा गीत लिएर आउनुभएको थियो उत्पादन गर्न । तर, गीतिसङ्ग्रह नभई एक/एक गीत सार्वजनिक गर्ने योजना उहाँले बनाउनुभएको छ ।

गायक पौडेल आफू गीतसङ्गीतमा निरन्तर सक्रिय रहने योजनाअनुरुप नै अघि बढ्नुभएको छ । नेपालमा रहँदा नै गीतसङ्गीतमा सक्रिय गायक पौडेलले अमेरिकामा रहेका नेपालीलाई दैनिक तीन कक्षामार्फत नेपाली गीतसङ्गीतप्रति आकर्षित गरिरहनुभएको छ ।

नेपाली गीतसङ्गीतप्रतिको यो मोह र लगावबाट उहाँले यस क्षेत्रलाई योगदान त दिनुभएकै छ । यसका अतिरिक्त उहाँले पछिल्लो समय नेपाली सङ्गीत उद्योगलाई पनि टेवा दिन थाल्नुभएका रुपमा पनि बुझ्न सकिन्छ । किनभने उहाँ हरेक वर्ष गीत रेकर्डिङ तथा उत्पादनका लागि नेपालमा आउने गर्नुभएको छ । उहाँले यस वर्ष यहाँ आएर ३० वटा गीत उत्पादन गर्नुभयो । यो उहाँको नियमित कार्यक्रम जस्तै बनेको छ ।

नेपालीहरुले अमेरिकामा गीत या म्युजिक भिडियो उत्पादन गर्न महँगो पर्ने गर्दछ । साथै कतिपय कलाकार यसैका लागि नेपालमै आउने अवसर प्राप्त नगर्न पनि सक्छन् । कलाकारहरुले मान्ने गरेको यो झन्झटलाई गायक पौडेलले दुर गरिदिनुभएको छ ।

यसबाट सुरुमा सानो ‘भोल्युम’ मा भए पनि नेपाली गीतसङ्गीत उद्योगले व्यवसाय प्राप्त गर्न सकेको छ भन्न सकिन्छ । गायक पौडेलले अमेरिकामा रहेका नेपालीको गीतसङ्गीत उत्पादनको चाहलाई नेपालमा ल्याएर साकार पारिदिने र यहाँको ‘म्युजिक इन्डस्ट्री’ लाई थोरै भए पनि ‘बिजनेस’ दिने योजना निरन्तर नै रहने योजना बनाउनुभएको छ । रासस