• /
    सोमवार, चैत्र २४, २०७६

‘उतिखेर घरघर गएर छोरीहरूलाई स्कुल ल्याउँथ्याैं’

बागलुङ नगरपालिका–१२ स्थित वरडाँडा पुग्दा उनी भागवत गीता वाचन गर्दै थिए। चौवालिस वर्षदेखिको यो उनको दैनिकी पनि हो।

‘सात्विक र संस्कृति पालना गरिन्थ्यो। तरकारी या आलु काट्ने भन्न पाइँदैनथ्यो। ‘काट्ने’ शब्द प्रयोग गर्दा हिंसा बुझिन्थ्यो। तरकारी बनाउने या केलाउने, आलु बनाउने आदि भन्नुपथ्र्यो,’ भागवत गीता पन्छाउँदै ‘डिल्लीप्रसाद गुरु’ले झन्डै ६ दशकअघिको विद्यार्थी जीवन सम्झिए। सबैले उनलाई चिन्ने र बोलाउने नाम हो– डिल्लीप्रसाद गुरु।


डिल्लीप्रसाद शर्मा

पिएन (पृथ्वीनारायण) क्याम्पस, पोखराका पहिलो ब्याचका विद्यार्थी हुन्, डिल्लीप्रसाद शर्मा। उनको क्याम्पस जीवन  २०१८ सालदेखि सुरु भएको थियो। पोखरामा पिएन क्याम्पस खुलेको थाहा पाएपछि उनी भर्ना हुन पुगे। त्यतिबेला प्रमाणपत्र (आइए) तह खुलेको थियो। उनले अंग्रेजी, संस्कृत र राजनीतिशास्त्र पढ्ने निधो गरे। उच्च शिक्षा पढ्न पाउनु र सोच्नु नै ठूलै कुरा मानिन्थ्यो।

पहिलो ब्याचमा १३ जना विद्यार्थी थिए। ‘नबुझेको कुरा गुरुलाई सोध्थें।  गुरु र विद्यार्थीको सम्बन्ध अहिले  जस्तो थिएन। गुरुसँग बोल्नै डर लाग्थ्यो। गुरुलाई श्रद्धा गर्नुपर्छ भन्ने संस्कारकै कारण  त्यस्तो भएको होला,’ उनले भने।

चार कक्षामा भर्ना भएका शर्मालाई असारको अर्धवार्षिकमा प्रथम भएपछि पाँच र मंसिरमा हुने परीक्षामा प्रथम भएपछि ६ कक्षामा चढाइयो। उनले एकै वर्ष  चार, पाँच र ६ कक्षा पढे।

दुवै वर्षको नतिजा प्रकाशन भएपछि गुरुले कक्षामै आएर शर्मा प्रथम भएको सुनाए।  जर्ज जोन क्याम्पस प्रमुख थिए। भारत केरलाबाट ल्याइएका जोन  अंग्रेजी भाषाका विद्वान् थिए। शर्माले सम्झिए, ‘मलाई धेरै माया गर्नुहुन्थ्यो। म  प्रथम भएपछि झनै प्रिय भएँ।’ उनी सबैका लागि उदाहरणीय बने। क्याम्पसमा उनलाई नचिन्ने कोही थिएनन्।

वि.सं. २०१८ मा स्थापित पोखराको पृथ्वीनारायण क्याम्पसका उनी पहिलो विद्यार्थी थिए। उनले पिएनमा बिए पढेनन्, गुरुबाट नियमित रूपमा बिए पढ्ने सल्लाह पाए।  तर,  उनी जागिर चाहन्थे। गुरुले उनलाई चिठी लेखेर बिए पढ्न बोलाए। चिठी पढेर उनी निकै उत्साहित भए। उनले गुरुको चिठी जतन गरेर आजैसम्म राखेको बताउँदै चिठी देखाए । उनले भने, ‘कस्तो कस्तो लाग्यो ! गौरवान्वित महसुस भयो। पढ्न जाऊँ–जाऊँ लाग्यो किनभने त्यस समयमा गुरुप्रतिको आदर अर्कै थियो।’

अंग्रेजी, संस्कृत र ज्योतिष
शर्माले संस्कृतको एक तह पढिसकेपछि ज्योतिष विद्या पढ्ने मनसाय बनाए। त्यसबेला कति पढेको भन्ने तह हँुदैनथ्यो। उनी वेद पढ्न सक्ने भएका थिए। वि.सं. २००९ मा १३ वर्षका थिए। बुबाले  गाउँमा ज्योतिष विद्या जान्ने मान्छे आवश्यक भएको भन्दै उनलाई उत्प्रेरित गरे।  उनी ६ जना साथीसहित अर्चलेका प्रजापति गुरुकहाँ पुगे। उनले भने, ‘म आमाबुबाको एक्लो छोरा हुँ। पढ्न सके भयो, अरू केही काम गर्नुपर्दैनथ्यो।’

शर्माले तीन वर्ष ज्योतिष विद्या पढे। उनी बिहान आठ बजेतिर खाना खाएर गुरुकहाँ जान्थे, साँझ घर फर्किन्थे, जाउआउ गर्न तीन घन्टा लाग्थ्यो।

उबेला गुरुकुलमा कडा अनुशासन हुन्थ्यो। आनीबानी मात्र होइन, बोलीचालीमै पनि बडो विचार पु¥याउनुपथ्र्याे। संस्कृतका नियमहरू पालना गर्नुपथ्र्याे। अपशब्द बोलेको गुरुले थाहा पाए, भोलिदेखि गुरुकुल नगए नि हुने अवस्था थियो।

त्यसबेला बडो ध्यानपूर्वक पढाइन्थ्यो।  दक्षिणा दिने नियम थिएन, स्वेच्छाले दिँदा हुन्थ्यो। जस्तो : कुनै नयाँ पुस्तक फुकाउँदा, नयाँ अध्याय थाल्दा मात्र केही (दुई चार पैसा) गुरुभेटी राखिन्थ्यो। बरु घिउ, कुराउनी र तरकारी लग्ने चलन थियो।

त्यस्तै, गुरुको घर गएर केही काम सघाउने चलन थियो। उनले भने, ‘घरमा काम गर्नुनपर्ने भएकाले गुरुकहाँ पनि म खासै काम गर्दैनथें। खेती र पशुचौपायासम्बन्धी काम हुन्थ्यो।’

शिष्यबाट कामको आस पनि गरिँदैनथ्यो। गुरु काममा व्यस्त भएको देख्दा स्वैच्छाले उनलाई सघाइन्थ्यो। उनले सुरुमा तिथि, नक्षत्र, बार, योग आदि गणना गर्न सिके। उनले वि. सं. २०१० सालको पात्रो निकाले, यसका लागि गुरुबाट धेरै सहयोग पाएका थिए। वि.सं. २०१७ मा प्रकाशित पात्रोमा उनको मात्रै मिहिनेत थियो।

चिना लेख्ने, पात्रो लेख्ने काममा उनकै नाम जोडिन्थ्यो। गाउँमा ज्योतिष विद्या प्रयोगमा ल्याइएको थियो। त्यसबेलाको दुःख सम्झिँदै उनले भने, ‘अहिलेजस्तो हरेक व्यक्तिको कोठाकोठामा पात्रो झुन्डिने अवस्थै थिएन। आफैंले पात्रो लेख्नुपथ्र्यो। कति वर्षसम्म त हस्तलिखित पात्रो बाँडियो।’ गाउँमा पात्रोबारे जानकार मानिस निकै कम हुन्थे। यसैकारण ज्योतिष विधाको महत्व बढ्यो, यो निकै उपयोगी साबित भयो।

उनी केही समय गाउँमै बसे। पढे–लेखेको मानिसले जागिर खानुपर्ने सोच आयो, यसपछि उनी बागलुङ बजार गएर विद्यामन्दिर विद्यालयमा चार कक्षामा भर्ना भए। वेद, चण्डी र ज्योतिष पढेका उनी ४ कक्षा सजिलै पढ्न सक्ने गुरुको बुझाइ थियो। असारमा भएको अर्धवार्षिक परीक्षामा प्रथम भएकाले उनलाई पाँच कक्षामा  राखियो। मंसिरमा हुने परीक्षामा पनि प्रथम भएपछि उनलाई ६ कक्षामा चढाइयो। उनले भने, ‘एकै वर्ष  तीन कक्षासम्म चढें। वि. सं. २०१६ को एसएलसी पाल्पा पुगेर दिएँ।’ पाल्पा पुग्न उनलाई दुई दिन लागेको थियो।

सम्मानित शिक्षण
शिक्षण निकै इज्जतदार पेसा थियो। पढेलेखेका सीमित भएकाले शिक्षण गर्ने जनशक्ति पाउन गाह्रो हुन्थ्यो। सीमित व्यक्तिले शिक्षण पेसा अँगाल्नुपथ्र्यो। कतिपयका लागि विकल्प पनि थिएन।

समाजमा शिक्षकलाई राम्रो स्थान दिइएको थियो। उनले भने, ‘मलाई शिक्षण पेसा मनपर्छ। मैले एसएलसीपछि पैयुँपाटामा पढाउन थालें।’

वि. सं. २०१७ देखि शिक्षणमा आबद्ध भए। उनले भने, ‘सुरुमा तलब पाउन गाह्रो थियो, पछिपछि पाइयो, रमाइलो भयो।’

पढे–लेखेकाले जागिर पाउने धारणा स्थापित हुँदै थियो, उनी यसको उदाहरण बने। उनले  पिएन क्याम्पसबाटै आइए गरे। पछि बिए पढ्न पिएन क्याम्पस नै गए। उनले भने, ‘गुरु पनि खुसी हुनुभयो। क्याम्पसभरि आइएको प्रथम विद्यार्थी आयो भनेर हल्ला गरियो।’

वि. सं. २००८ मै पैयुँपाटामा भाषा पाठशाला थियो। वि.सं. २०१४ मा पूर्णप्रकाश नेपालले  सोही भाषा पाठशाला पढाउन थाले। शर्मा पनि एसएलसी उत्तीर्णपछि त्यहीँ कार्यरत थिए। उनले भने, ‘त्यतिबेला हामी  विद्यालय संस्थापक हेमराज पौडेललाई विद्यालयका काममा सघाउँथ्यौं।’  विद्यालय स्थापना गर्ने पौडेलको  चाहना त पूरा भयो। विद्यार्थी आउने हुन् कि होइनन् ? आर्थिक कारणले विद्यालय चल्ने हो कि होइन ? शिक्षक पाइएला कि नपाइएला ? यस्ता विषयमा पौडेल खुब चिन्ता गर्थे। 

भर्ना अभियान
छोराछोरीलाई विद्यालय पठाइँदैनथ्यो। घरघर  पुगेर अभिभावकसँग छोराछोरी विद्यालय पठाइदिन अनुरोध गर्नुपथ्र्यो। उनले भने, ‘हेमराज र पूर्णप्रकाश त टिनको पातोबाट ढ्वाङ बनाएर ‘आफ्ना छोराछोरीलाई विद्यालय पठाऔं’ भनेर घोक हाल्दै पनि हिँड्नुहुन्थ्यो। छोरीहरू घरबाट निस्किने अवस्था त थिएन।’

उनी खर्सेडाँडाकी एक छोरी विद्यालय पढ्न आएको र एक्लो भएर अप्ठेरो मानेको सम्झन्छन् । उनले  घरघर गएर छोरीलाई पढ्न पठाउन अभिभावकसँग धेरै नै अनुरोध गरेका थिए।

चेपुवामा जागिर
१२ वर्ष शिक्षण गरेपछि उनले माविनि (माध्यमिक विद्यालय निरीक्षक)मा अस्थायी जागिर सुरु गरे। अंग्रेजी विषयको विद्यालय निरीक्षक बनाएर उनलाई बागलुङमा खटाइयो। जिल्लामा अंग्रेजीको महŒवबारे बुझिँदै थियो। उनी जिल्लाका प्रायः विद्यालयमा पुगे। उनले भने, ‘माविनिको मासिक तलब चार सय पचहत्तर रुपैयाँ थियो। एक तोला सुनको मूल्य तीन सय थियो।’

शर्मा जिशिअ (जिल्ला शिक्षा अधिकारी)  भएपछि वि. सं. २०३५ मा म्याग्दीमा बस्न थाले। विद्यालय सञ्चालन स्वीकृतिका लागि खुबै राजनीति हुन्थ्यो। स्थायी अनुमतिका लागि त झनै राजनीति हुन्थ्यो। उनले भने, ‘सरकार  देशमा शिक्षाको विकासको नीति लिन्छ तर जिल्लामा विद्यालय माग्दा कसले माग्यो ? को–को संलग्न छन् ? कांग्रेस कि कम्युनिस्ट ? यस्ता विषय खुबै खोजीनिती गरिन्थ्यो।’

विद्यालय सञ्चालन अनुमतिका लागि मानिसहहरू गुट उपगुटमा विभाजन हुन्थे। उनी वि. सं. २०४५ सम्म माविनिमा रहे। पञ्चायत कालमा सरकारी सेवामा काम गर्न गाह्रो रहेको उनको अनुभव छ। उनले भने, ‘पञ्चायतमा धेरै गुट–उपगुट थिए, काम गर्न निकै गाह्रो हुन्थ्यो।’

जानकारीबिनै जिल्ला शिक्षा अधिकारी पद खोसिएको उनले सुनाए । उनले भने, ‘वि. सं. २०४३ मा म्याग्दीको जिशिअ थिएँ।  प्रदीप (छोरा)को बिहेका लागि घर जाँदा क्षेत्रीय शिक्षा निर्देशकसँग बिदाको मौखिक स्वीकृत लिएँ। पछि कहाँ गयो  भनेर प्रश्न उठाइएछ। बिदा स्वीकृतको फाइल खोजिएछ। अञ्चलाधीशले थर्काएपछि निर्देशक पनि डराएछन्। पछि त जागिरबाट निकालिएछु।’

अमलाचौरमा विद्यालय माग्ने काममा लागेको भनेर उनलाई तारो बनाइयो। उनले भने, ‘त्यो विद्यालय कम्युनिस्टले मागेको भनियो। दिनानाथ शर्मा (पूर्वशिक्षामन्त्री) लगायतसँगै म पनि थिएँ। अमलाचौरमा विद्यालय मागेको भन्ने आरोप लगाएछन्। पञ्चायतमा कम्युनिस्टसँग नाम जोडिएपछि जागिर जान्थ्यो। गुटका मानिसले मलाई जागिरबाट निकाल्ने उचेरो खोजिरहेका बेला यो एउटा निहुँ भयो।’

उनी  अदालत गएँ। सरकारविरुद्ध अदालतले कदम चलाएन। उनले भने, ‘मेरो कुनै गल्ती नभएकाले अदालत गएको मात्र हुँ।’

उनी अंग्रेजी र संस्कृत जान्ने विद्वान्मा पर्छन्। उनले अंग्रेजीमा एमए र संस्कृतमा आचार्य गरेका छन्। उनी ज्योतिषशास्त्री पनि हुन्।

उनी पर्वते राजा कृतिबम मल्लका सभा पण्डित प्रेमनिधि पन्तको व्यक्तित्व र कृतित्वका विषयमा विद्यावारिधि गर्दै थिए। एक दिन उनलाई लठ्याउने औषधि खुवाएर उनको औंठी र हस्तलिखित शोधप्रबन्ध चोरी भयो। यसैकारण उनको विद्यावारिधि यात्रा अधुरै रह्यो।

(लेखक राष्ट्रिय समाचार समितिका वरिष्ट पत्रकार हुनुहुन्छ)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

लकडाउन एक हप्ता थप्नुपर्ने उच्चस्तरीय समितिको माग

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

पश्चिम नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

नियन्त्रण गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि सशस्त्रको टोली नै सेल्फ क्वारेन्टाइनमा

अमेरिकामा चार नेपालीको मृत्यु




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
NP Rimal Nirmal

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394