• /
    शनिबार, मंसिर २१, २०७६

नेपाल–जापान सम्बन्धको नालीबेली

हरेन्द्र बी बरुवा

पृष्ठभूमि
भौगोलिक दूरीका बाबजुद पनि एसियाली मुलुक नेपाल र जापान बीचको सम्बन्ध ऐतिहासिक, सुमधुर छ। दुवै देशका सांस्कृतिक सम्पदाको पनि ऐतिहासिक सम्बन्ध भएकाले यी दुई देशबीचको सम्बन्धको सेतु प्राचीन रहेको छ।

ताङ वंश (सन् ६१८–९०७) तिर चिनियाँ भिक्षु तथा दार्शनिक जुवान जिङ बुद्धका उपदेश अध्ययन गर्न भारत आएका थिए। उनले लिच्छवी राजा अंशुवर्माको पालामा काठमाडौंको पनि भ्रमण गरेका थिए। भनिन्छ, यिनै भिक्षुले लेखेको यात्रा संस्मरणबाट जापानी विद्वान्हरूले काठमाडौं उपत्यका तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा थाहा पाएका हुन्।

नेपालको लिच्छविकाललाई जापानी यामातो पिरियड (सातौँ शताब्दी) तथा नारा कालसँग तुलना गर्न सकिन्छ। यो पनि भनिन्छ कि, नवाैँ शताब्दीमा सम्राट कामुका नाति राजकुमार ताकाओका तथा उनको भ्रमण टोली बौद्ध धर्मको खोजीमा चीन हुँदै तेन्जिकु (भारतका लागि पुरानो जापानी नाम) का लागि प्रस्थान ग-यो। दुर्भाग्यवश, रोएत्सु (हालको सिंगापुर) मा उनको निधन भयो। यसरी जापानका कैयौँ मूल बौद्ध भिक्षु तथा बुद्धिजीवीले पनि बुद्धको देश नेपाल पुग्न विकराल अड्चन र खतरा मोलेर साहसी प्रयास गरेका थिए। तर, ती सबै प्रयास निरर्थक भएका थिए।

समान देवीदेवता
नेपाल–जापान सम्बन्धको विशेषता परम्परागत मित्रता तथा आध्यात्मिक बन्धन हुन्। नेपालमा पूजा गरिने कतिपय हिन्दू तथा बौद्ध देवीदेवतालाई जापानमा पनि श्रद्धा गरिन्छ। जस्तै जापानको ताइसाकुतेनलाई शैवमाताका रुपमा पुजिन्छ। त्यसैगरी महादेवीका रुपमा किसोहोतेन मन्दिर प्रसिद्ध छ भने हारतीमाताका रुपमा जापानको किसिमोजिनलाई चिनिन्छ। त्यसैगरी हिन्दू धर्मशास्त्रमा विद्याकी देवी सरस्वती मानेजस्तै जापानको बेन्जाइन्तेनलाई मान्छि। यहाँका महाङ्काल देवताजस्तै जापानका दाइकाकु र अवलोकेश्वर महादेवका रुपमा जापानको कानोन सामा मन्दिरलाई मान्ने गरिएको छ। त्यस्तै मञ्जुश्रीको जस्तै मान्ने जापानी देवता हुन् मञ्जु बोसात्सु र गौतम बुद्ध।  यी सबै देवी–देवतालाई चीन तथा कोरियाबाट छैटौँ शताब्दी ताका बौद्ध धर्मसँग जापान भित्र्याइएको थियो। जापानमा एक खालको पूजा देख्न सकिन्छ, जुन पाँच उपकार (धुप, फूल, दीप, अत्तर तथा खाना) ले पूर्ण हुन्छ। यो पुरानो संस्कार आज पनि संरक्षित छ। जापानी संस्कृति बुझाउने केही समान तत्वका साथ यी साधारण कर्मकाण्डहरू आज पनि पुस्ताैँदेखि जीवितै रही आएका छन्।

नेपाल–जापान सम्बन्धको विशेषता परम्परागत मित्रता तथा आध्यात्मिक बन्धन हुन्। नेपालमा पूजा गरिने कतिपय हिन्दू तथा बौद्ध देवीदेवतालाई जापानमा पनि श्रद्धा गरिन्छ।

हिन्दू धर्ममा धनकी देवी मानिने लक्ष्मी जापानीहरुबीच किचिजो किसो नामबाट चिन्ने गरिएको पाइन्छ र यसको नामबाटै टोक्योको एक सहर किचिजोजीको नाम रहेको भन्ने कथन छ। टोक्योको इनोगासिरा पार्कमा लक्ष्मीको मन्दिर छ। क्योटोको गियोन पर्वले काठमाडौंका रातो तथा सेतो मछेन्द्रनाथ रथ यात्रा स्मरण गराउँछ। भारतको उत्तर प्रदेशको जेताभना बौद्ध मन्दिरको चिनियाँ नाम गियोन हो। भारतका लागि पूर्वजापानी राजदूत यासुकुनी इनोकीका अनुसार महामारीको अन्त्यका लागि त्यो समयमा रथ यात्राको पर्वको थालनी गरिएको थियो।

जापानी विद्वान्ले बौद्धदर्शन अध्ययनका क्रममा बडो परिश्रमपूर्वक चिनियाँ अक्षर तथा सिद्धम् र पाली लिपि सिक्दै अप्रत्यक्ष रूपमा संस्कृत सिके। नाराको होरियुजी मन्दिरमा एउटा पुरानो हस्तलिखित सूत्र छ। जापानको तेन्री विश्वविद्यालयका संस्कृतका विद्वान् नारिताका अनुसार सो सूत्र संस्कृत भाषामा छ, तर त्यसमा कुटिल लिपि प्रयुक्त छ। जापानमा कुटिल लिपिलाई सिद्धम् पनि भनिन्छ। जापानी विद्वान्ले संस्कृतबाट प्रेरित हुँदै संस्कृतका स्वर वर्णहरू पैँचो लिएर आफ्नै खाना शब्दांशको विकास गरेका हुन् र त्यो लगभग उस्तै सुनिन आउँछ। जापानी भाषाको वर्णमाला हिरागाना र कातागानाको वर्ण क्रम पनि संस्कृत अनुरूप नै छ। तसर्थ के भनिन्छ भने, आठौँ शताब्दीदेखि यी ध्वनिमा आधारित रही प्रचलनमा आएका हिरागाना र कातागाना प्रयोग गर्दै दक्षिण एसियालीहरू जापानी बोलीचाली अरुभन्दा छिटै सिक्छन्।

भौगोलिक, शासकीय र शास्त्रीय समानता
कसैको अधीनमा नरही स्वतन्त्र रहेको र मिथक (ऋग्वेद र कोजिकी) ले धनी दुई हजार वर्षभन्दा पुरानो अभिलिखित इतिहास नेपाल र जापानको रहेको छ। ऋग्वेद तथा कोजिकी दुवैमा भगवान्को उत्पत्तिबारे एकै खालका दृष्टिकोण छन्, अनि आ–आफ्ना देशका जन्मका बारे पनि मिथकीय अवधारणा छन्।

जापान र नेपालको स्रोतको कुरा गर्ने हो भने मानव संसाधनमा आश्रित छन् भन्न सकिन्छ। भूपरिवेष्ठित नेपाल तथा जलपरिवेष्ठित जापान दुवै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। जापानलाई पानीको देश भनिन्छ, नेपाललाई जलस्रोतको धनी।

रोचक यो छ कि दुवै देशका शासकले अरु देशसँग सम्बन्ध नबनाउने ‘एकाङ्गी’ नीति अवलम्बन गरे। जापानमा यो दुई सय वर्ष रह्यो र यसलाई तोकुगावा काल (सन् १६००–१८६८) भनिन्छ। यसलाई नेपालको सय वर्षभन्दा लामो राणाकाल (सन् १८४६–१९५०) जस्तै मानिन्छ। जापानको आधुनिक युगको सुरुवात सम्राट मैजीको सत्तामा पुनर्वहालीपछि भएको मानिन्छ, जसका लागि जनताले तोकुगावा शासनविरुद्ध लडेका थिए। नेपालमा राजा र प्रजाले राणाशासनविरुद्ध लडेका थिए।

नेपाल भ्रमण गर्ने पहिलो जापानी एकाई कावागुची थिए, उनले नेपालको अपार जलस्रोतको समुचित उपयोग गर्न तथा घरेलु उद्योग, शिक्षा एवं पर्यटन क्षेत्रको विकास गर्न सुझाएका थिए।

एसियामा बिरलै देखिने झगडा र द्वेष बेगरको सौहार्दपूर्ण सामाजिक संरचना यी दुवै देशमा पाइन्छ। हालसालै अप्रिल २०१९ मा बीबीसीले ‘अनुदार भनी चिनिएको आफ्नो समाज विदेशी कामदारका लागि खुला गर्न जापानले विधेयक पारित गरेको छ’ भनी समाचार प्रसारण गरेको छ। धेरैले टिप्पणी गरेका छन्, आफ्नो जनसंख्याको तीव्र क्षयका कारण विदेशी कामदारलाई कानुनी रूपमा भिœयाउने विकसित मुलुकको सूचीमा अब जापान पनि परेको छ। न्यून जन्मदर र वृद्धहरूको बढ्दो संख्या जापानका लागि चिन्ता बनेको छ।

संयुक्त राज्य अमेरिकालाई बहु–संस्कृतिको संगम भनिएजस्तै जापान पनि त्यस्तै विविध धारका धर्म र दर्शनको संगमस्थल बन्न सक्छ। नारा कालअघि पनि चिनियाँ र भारतीय विचारको दह्रो प्रभाव रहेको स्पष्ट प्रमाण भेटिन्छन्। जापान चिनियाँ संस्कृतिबाट प्रभावित छ, तैपनि उसले आफ्नै नितान्त मौलिक संस्कृतिको विकास गरेको छ। जापानी संस्कृतिमा अनेकन् विदेशी तत्व पाउन सकिन्छ, तर तिनलाई जापानी माटो अनुकूल बनाई समाहित गरिएको छ। नेपाल भारतीय संस्कृतिबाट अत्यन्त प्रभावित छ। उसले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै केही पुराना परम्पराको आधुनिकीकरण गर्न पनि बाँकी छ। जापानमा परम्परा र आधुनिकता रथका दुई पांग्रा जस्तै सँगै चल्छन्।

जनताबीचको सम्बन्ध
नेपाल र जापानका नागरिक बीचको सम्बन्ध १९औँ शताब्दीको अन्त्यतिर सुरु भएको हो। नेपाल भ्रमण गर्ने पहिलो जापानी भिक्षु एकाई कावागुची थिए, जो तिब्बत जाँदा सन् १८९९ मा काठमाडौं आएका थिए। उनले काली गण्डकी नदी पार गरेर मुस्ताङको बाटो भएर तिब्बत गएका थिए।  उनले तिब्बतको बडो कठिन र जोखिमयुक्त यात्रा गरेको उनैले लेखेका यात्रा अनुभवहरुबाट थाहा हुन्छ। पछि उनले चारपटक सम्म नेपालको भ्रमण गरे। यद्यपि ती सबै छोटा समयका लागि मात्रै थिए। सन् १९०५ मा उनले प्रधानमन्त्री चन्द्रशमशेरलाई सम्बोधन गरी नेपालका अनेकन् समस्याका बारेमा एउटा लामो पत्र लेखे, जुन आज पनि सान्दर्भिक छ। कावागुचीले नेपालको अपार जलस्रोतको समुचित उपयोग गर्न तथा घरेलु उद्योग, शिक्षा एवं पर्यटन क्षेत्रको विकास गर्न सुझाएका थिए।

सन् १९०२ मा नेपाल सरकारले आठ नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि जापान पठाएको थियो। उनीहरू नै सरकारी छात्रवृत्तिमा विदेश पढ्न जाने पहिलो नेपाली विद्यार्थी थिए। काठमाडौंमा आजभोलि हामीले पाउने गोदावरी, ठूलो कटुस, हलुवावेद, नील लहर जस्ता फूल तथा वनस्पतिहरु यिनै जापानबाट फर्केका नेपाली विद्यार्थीले ल्याएका उपहार हुन्। उनीहरूले ती बिरुवाका बीज ल्याएर नेपालमा रोपेका थिए। उदारमना प्रधानमन्त्री देवशमशेरले विद्यार्थीलाई जापान पठाउने निधो गरे, तर उनीहरू चन्द्रशमशेरको पालामा जापान गए।

युरोपको साटो देवशमशेरले किन जापान रोजे भन्नेबारे लामो कथा छ। त्यति बेला जापान आफैँ आफ्ना युवालाई आधुनिक प्रविधि सिक्नका लागि युरोप पठाउँदै थियो। देवशमशेरलाई प्रभावित पार्ने जापानका केही कुरा छन्। जस्तो कि सन् १८६८ ताका नै जापानको साक्षरता ४० प्रतिशत थियो, जुन त्यतिबेला युरोपका धेरै देशभन्दा उच्च थियो। दुई सदनको प्रावधान भएको मैजी संविधान भनिने एसियाको पहिलो प्रजातान्त्रिक संविधान जापानमा फेबु्रअरी ११, १८८९ मा घोषणा भएको थियो। जापानमा पहिलो आम निर्वाचन जुलाई, १८९० मा भइसकेको थियो। धेरै संख्यामा प्राविधिक शिक्षालयहरू खुलेका थिए। अनि, दुई मुलुकबीचका केही समान परम्पराले पनि देवशमशेरलाई आकर्षित गरेका थिए। देवशमशेर नै यस क्षेत्रमा अध्ययनका लागि पूर्वीय मुलुक रोज्ने प्रथम व्यक्तित्व थिए।

देवशमशेर मैजी संविधानबाट प्रभावित थिए, जुन एसियाको प्रथम द्विसदनात्मक संविधान थियो। जापानले शिक्षाको संवद्र्धन गर्नुका साथै ठूलो संख्यामा घरेलु उद्योग स्थापनामा जोड दिएको थियो। यसलाई मनन गर्दै देवशमशेरले पनि देश भरमा सयभन्दा धेरै विद्यालय स्थापना गरे। पहिले उच्च वर्गका र घरानियाँका छोराछोरीले मात्र दरबार हाई स्कुलमा पढ्न पाउँथे, पछि सबैका लागि खुला गरियो। जापानमा पनि विशेष अधिकार प्राप्तहरूका लागि मात्रै विद्यालय थिए। ठूलो संख्यामा जनमानसका लागि शिक्षा समर्पण भावले लागिपरेका भिक्षुहरूले गर्दा मात्रै सम्भव भयो।

ताङ वंश (सन् ६१८–९०७) कालमा चिनियाँ भिक्षु जुवान जिङ बुद्धका उपदेश अध्ययन गर्न भारत र नेपाल आएका थिए। भनिन्छ, यिनै भिक्षुले लेखेको यात्रा संस्मरणबाट जापानी विद्वान्हरूले काठमाडौं उपत्यका तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा थाहा पाएका हुन्।

जुन समय चुगुमिची साइगो मैजी मन्त्रिपरिषद्मा सदस्य थिए, त्यही बेला उच्च अध्ययनका लागि नेपालले आठ विद्यार्थीको आफ्नो पहिलो टोली जापान पठाएको थियो।

नेपाली र जापानीहरूबीच एक अर्काका देश भ्रमणको प्रसंग यतिमै सीमित छैन। जापानी एक प्राध्यापक -युजो ताकायामाका अनुसार, सन् १८८८ देखि १९१३ को बीचमा सिमाजी दाइतो, सिमिजु मोकुजी, ताकाकुसु जुनजिरो जस्ता प्रसिद्ध जापानी विद्वान्हरू तथा अन्य केही विद्वान् पनि बौद्धस्थलको पुरातात्विक अनुसन्धान तथा बौद्ध सूत्रहरूको संकलन गर्न नेपाल आएका थिए। सन् १९३४ को काठमाडौंको महाभूकम्पको असर अध्ययन गर्न एक जापानी इन्जिनियर नेपाल आएका थिए। जयपृथ्वीबहादुर सिंहले सन् १९०७ मा लेखेको ‘शिक्षादर्पण’ पुस्तकमा जापानलाई एउटा आदर्श मुलुक भनेर प्रशंसा गरिएको छ। यो नै अभिलेखमा रहेको नेपालमा मुद्रित जापानसम्बन्धी पहिलो पुस्तक हो। जापानी लेखकले नेपालका जीव तथा वनस्पति जस्ता वैज्ञानिक शीर्षकमा कैयौँ पुस्तक प्रकाशित गरेका छन्। हिमालयको जल सम्पदा, कृषि, समाजशास्त्र तथा अन्य शीर्षकहरूमा पनि उनीहरूले लेखेका छन्।

औपचारिक सम्बन्धको सुरुआत
नेपाल र जापानबीच कूटनीतिक सम्बन्धको स्थापना सेप्टेम्बर १, १९५६ मा भयो। दुई देशका जनता बीचको पुरानो सम्र्पकका बाबजुद पनि औपचारिक सम्बन्ध ढिला हुनुको कारण नेपालले लिएको एकाङ्गी (अलग रहने) परराष्ट्र नीति हुन सक्छ। त्यस समयमा नेपालको औपचारिक सम्बन्ध केही मुलुकसँग मात्र थियो। छोटो समयमै नेपाल र जापानका शाही परिवारबीच भएका उच्चस्तरीय भ्रमणहरू, उच्च ओहोदाका अधिकारीको भ्रमण आदान–प्रदान साथै जापानबाट प्राप्त आर्थिक सहयोगहरूले दुई देशबीचको सम्बन्धलाई छिटै सुदृढ बनायो।

सन् १९६९ मा नेपाल सरकारको अनुरोधमा जापानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा आफ्नो सदस्यताको उम्मेदवारी फिर्ता लियो। जापानको यो मित्रवत व्यवहारका कारण नेपाल पहिलोपटक संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अस्थायी सदस्य हुन पुग्यो। नेदरल्यान्डको हेगमा रहेको अन्तर्राष्ट्रिय न्यायालयको स्थायी सदस्यताका लागि जापानले दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको थियो। पछिल्ला दिनमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि भने जापानको उम्मेदवारीलाई समर्थन गर्न नेपालले आनाकानी गरिरहेको अवस्था छ।

आर्थिक सहयोग र समन्वय
अमेरिका तथा सोभियत गुटको सन् १९५० ताकाको शीतयुद्धको उपजको रूपमा विकासशील देशहरूलाई आर्थिक सहयोग आउन थालेको हो। सन् १९६० को दशकलाई आर्थिक सहयोगको सुरुवात तथा संयुक्त राष्ट्रसंघको विकास कार्यक्रमको सुरुवाती दशक भनिन्छ।

शीतयुद्धपछि बिस्तारै जापानको एसियाप्रतिको चासो पनि पुनर्जागृत भयो, विशेषतः आर्थिक वृत्तमा। जापानको आर्थिक सहयोग पाउने धेरै देश लाभान्वित भएका छन्।

आर्थिक सहयोगले नेपालका विकास कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको छ। नेपालको प्रमुख दातृ राष्ट्रमध्ये एक हो, जापान। सन् १९६९ मा औपचारिक विकास सहयोग (ओडीए) सुरु भएयता नेपालका लागि जापानको सहयोग राशि लगभग तीन हजार सात सय २० मिलियन अमेरिकी डलर पुगेको छ। ओडीएको ५७.४८ प्रतिशत अनुदान, २२.९५ प्रतिशत ऋण तथा १९.५७ प्रतिशत प्राविधिक सहयोग छ। कुल सहयोगमध्ये २१ प्रतिशतभन्दा माथि पूर्वाधार विकासका लागि, १७ प्रतिशत कृषि, नौ प्रतिशत शिक्षा, दुई प्रतिशत स्वास्थ्य तथा बाँकी अन्य क्षेत्रका लागि पर्दछ। ओडीएभित्र द्विपक्षीय तथा बहुपक्षीय सहयोग पर्छन्।

आर्थिक समन्वयको एउटा प्रमुख उद्देश्य भनेको सो कार्यक्रमलाई स्वावलम्बी बन्न सहयोग गर्नु हो। नेपालमा जापानी धेरै आयोजनामध्ये सबैले जानेकामा कुलेखानी जलविद्युत् योजना, कालीगण्डकी ‘ए’ जलविद्युत् योजना, शिक्षण अस्पताल, ठिमीको केन्द्रीय क्षयरोग केन्द्र, वागमती र विष्णुमती नदीमाथि काठमाडौंका पुलहरू, एउटा सिमेन्ट कारखाना, गोंगबुको नयाँ बसपार्क, खानेपानी वितरण तथा शुद्धीकरण सेवा, तनहुँँ जलविद्युत् योजना, मेलम्ची खानेपानी वितरण योजना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार, मिडियम वेभ रेडियो प्रसारण र विस्तृतीकरण, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, कृषि (वागवानी) सिँचाइ, बनेपा–सिन्धुली राजमार्ग तथा सन् २०१५ को भूकम्पपछि आपतकालीन विद्यालय पुनर्संरचना तथा आवास आयोजना पर्छन्।

नेपाल–जापान सम्बन्धका तीन स्तम्भ छन्– परम्परागत मित्रता, औपचारिक सम्बन्ध तथा जनताबीचको मित्रता। नेपालको सांस्कृतिक सम्पदा र जापानी परम्परागत संस्कृतिलाई जमिनमुनि बहेको अति गहिरो र अदृश्य इतिहासरूपी नदीद्वारा जोडिएको छ। यो सम्बन्धको महत्वपूर्ण पक्ष संस्कृति हो, यो स्थायी पनि छ। वैदेशिक नीतिका तीन स्तम्भमा जापानले पनि सांस्कृतिक आदान–प्रदानलाई महत्व दिन्छ। जापानको नयाँ सम्राटका रुपमा नारुहितोले गद्दी आरोहण गर्नुभएको छ। हालैमात्र सम्पन्न उहाँको राज्याभिषेकमा विश्वका कैयौँ देशका राष्ट्राध्यक्षजस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको छ। उहाँको राज्याभिषेकको ‘परेड’ यही नोभेम्बर १० मा हुदैछ। सम्राट नारुहितो सन् १९९७ मा नेपाल भ्रमणमा आउनुभएको थियो। त्यस क्रममा पोखरा पुगेका उहाँले पोखराको एक ग्रामीण भेगका महिला तथा केटाकेटीले गाग्रामा खानेपानी बोकेको देख्दा पानीको के कस्तो महत्व रहेछ भनेर आफ्नो ट्रेकिङ दलका केही साथीहरुसँग आफ्ना भावना व्यक्त गरेको कुरा थाहा भएको थियो। नेपाल र जापानबीच सम्राटदेखि सरकार हुदै जनस्तरसम्मको सुमधुर सम्बन्ध रहेकोमा नयाँ सम्राट नारुहितोको राज्याभिषेकको यस अवसरमा जापानी राजाप्रति म सबै नेपालीको तर्फबाट शुभकामना र श्रद्धा व्यक्त गर्दछु।  साभार नागरिक दैनिक
(लेखक बरुवा जापानी युनिभर्सिटी अल्मुनाई एसोसिएसन नेपालका संस्थापक सदस्य हुन्।)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

‘निजी क्षेत्रलाई ढुक्कसँग लगानी गराउन सकेमा मात्र देशमा आर्थिक समृद्धि आउँछ’

सीमाको बिषयमा सरकार गम्भीर नबनेकोमा नेकपाकै सांसदको आपत्ति

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394