• /
    बिहिबार, कार्तिक ७, २०७६

दोष मन्नुको थिएन

भारतकी प्रसिद्ध आख्यानकार मन्नु भण्डारीको उपन्यासमा आधारित नाटक ‘महाभोज’ काठमाडौंमा हिट भइरहेको छ । उनका ‘आप की बन्टी’लगायत अन्य उपन्यास र कथा भारतमा प्रसिद्ध छन् । पति राजेन्द्र यादवसँग मन्नुको दाम्पत्य जीवन सुखी भएन ।

प्रसिद्ध आख्यानकार तथा लामो समय ‘हंस’ पत्रिकाका सम्पादक रहेका स्व. यादवले यो स्मृतिमा गहिरो आत्मबोध र अपराधबोध प्रकट गरेका छन् । उनको संस्मरण संग्रह ‘मुड मुड के देखता हुँ’बाट कवि तथा कथाकार अभय श्रेष्ठले यसको अनुवाद गरेका हुन् ।

१.
कीर्तिको प्रसंगमा दिदीले खुब मजा मानिन् । भयो के भने म ‘अनदेखे अनजान पुल’ शीर्षक कथा लेख्न रानीवन गएको थिएँ । कीर्ति त्यहीँ भुवालीमा थिई । डेढ वर्षको पत्रव्यवहारपछि पनि मैले उसलाई देखेको थिइनँ । कसरी उसलाई चिन्नु ? म बडो संकटमा थिएँ । पत्रको जवाफ बिहान हुलाकबाटै पाएको थिएँ, ‘तिमी कुनै पनि दिन आए हुन्छ । तर, दुई र तीन बजेको बीच आए सुविधा हुन्छ । त्यसवेलासम्म हामी बिरामी सबैको खाना, औषधि र चेकजाँच सकिसकेको हुन्छ ।

हामी सबैजना आराम गर्छौं । गफ लडाउँछौँ । त्यो वेला निश्चिन्त भएर कुरा गर्न पाइन्छ ।’ यही पत्रको प्रतीक्षामा थिएँ । १० बजे बस चढेर म स्यानिटोरियम पुगेँ । मुटु बेस्सरी धड्किरहेको थियो, त्यहाँ पुग्दा मेरो हालत के होला भनेर । बेड नम्बर र नाम सम्झँदै बसको झ्यालबाट पहाडी घुम्ती अवलोकन गर्दै गएँ ।

उपन्यास, कथाका विषयमा पत्रव्यवहार सुरु भएको थियो । अन्य महिला पाठकजस्तै कीर्ति मेरो केही चिजको अन्धभक्त थिई । उसका अनुसार मैले ‘शुद्ध बकवास’ गरेको थिएँ । लिखत र दुई अक्षरको नामबाहेक मलाई यति थाहा थियो, ऊ एक्ली छे, एमए पास गरेकी छ, क्षयरोगको दोस्रो चरण पार गर्दै छे र उसको एकापट्टिको फोक्सो बेकाम भइसकेको छ । पत्र लेख्न उसलाई गाह्रो छ, तर ममाथि कृपा गरेर लेखिदिन्छे । नत्र भने पढ्नु उसको एक मात्र रुचि हो । कुनै साथी भए तास खेल्छे । हरेक सप्ताह कृष्णा सोबतीको ‘बादलों के घेरे’ पढेर धरधरी आँसु झार्दै रुन्छे । परिवारमा सब चिज छ । तर, ऊ निर्विकार र निसंग छे । अब चाँडै नै ऊ छुटकारा चाहन्छे । रोगले नछाडे जिन्दगीबाटै छुटकारा ।

मैले उसलाई सहानुभूति, आश्वासन र आस्था जनाएर पत्र लेखेको थिएँ । यसकारण हामीबीच आत्मीयता थियो । निसंकोच भएर उसले आफ्ना अन्य समस्याबारे पनि मसँग सुझाब मागेकी थिई । तर, पछिल्ला पत्र पढ्दा लाग्थ्यो, हालत बिग्रँदै छ । कुनै दिन ऊ सुतेको सुत्यै हुनेछे । म उसलाई सम्झाउँथेँ, क्षयरोग अब त्यस्तो असाध्य र भयानक रोग होइन । तर, उसको पत्रमा निराशाको रङ गहिरिँदै गएको थियो । जुन स्यानिटोरियममा ऊ थिई, त्यसकै नजिक पहाडमा म आफ्नो कामका लागि गएको थिएँ । उसले लेखेकी थिई, ‘काम सिध्याउनू । समय मिले एकपल्ट यतातिर पसेर जानू । थाहा छैन फेरि… ।’

दुई, तीन घन्टाको पहाडी यात्रा करुणा र दुःखका दृश्य हेरेर बित्यो । कहिलेकाहीँ मलाई दुःखद दृश्यको कल्पनाले सताउँथ्यो । जुनवेला म त्यहाँ पुग्छु, त्यसैवेला हतासामा कोठाबाट निस्कँदै नर्सले भनिदेली, सरी ! अनि सिर्फ सेतो कपडाले ढाकिएको निराशासँग मात्र मेरो साक्षात्कार होला । अर्को अप्ठ्यारो के थियो भने उसको हेरचाहका लागि बस्ने आफन्तलाई म के भनेर आफ्नो परिचय दिऊँ ! घाँटीसम्म कम्बल ओढेर ऊ सुतिरहेकी होली ।

निस्तेज आँखा, कोप्चिएका गाला, ओइलाएको मुहार र जिङरिङ्ग कपाल । सहाराका लागि यताउता तकिया राखेको होला । म पुगेँ भने कसैले उसलाई तकियाको सहारा दिई उठाएर बसाउला ।इ–क्लास सोध्दै म अफिस पुगेँ । इन्क्वाइरीमा सोध्दा कान टट्टाउने गरी युवकले सोध्यो, ‘को रे ?’ मैले नाम र बेड आदिको नम्बर बताउँदा उसले भन्यो, ‘ए ! मिस कीर्ति शुक्ला !’ मलाई एकसाथ दुई जानकारी मिल्यो । त कीर्तिको पूरा नाम यो रहेछ ? अनि ऊ अविवाहित नै रहिछ । सरसफाइ गर्ने मान्छेले भन्यो, ‘सिँढी चढेर माथि जानुस् । त्यहीँ सोध्नुस् । सिमलीले भनिदिन्छे ।’ सिमली अर्थात् सिमला (कमोड) सफा गर्ने महिला ।

लामो बरन्डा थियो । त्यसमा कोठाको ढोका र झ्याल खुल्थ्यो । हरेक कोठामा दुइटा बेड थिए जुन आधा वा पूरा रातो कम्बलले ढाकिएका थिए । दुई–तीनवटा कम्बल ओढेर बसेकी कमजोर बिरामी केटी एकटकले बरन्डातिर हेरिरहेकी थिई । मलाई लाग्यो, केटी यही हो । उसले भनी, यो होइन, उता सिरानको कोठा हो ।

रातो कम्बल, सेतो तन्ना, हरेक बेडको तल सानो स्टुुल बीचमा जालीदार आलमारी र त्यसमा राखिएको दूधको गिलास, औषधिका सिसीहरू, फल र ओछ्यानमा ढाकिएको वा खुला ओइलाएको अनुहार । म बरन्डाको माथिल्लो भाग पुगेँ । तब पखालिएको पितलको थाली लिएर एक महिला कर्मचारी बरन्डाको सिँढी चढी ।

सोधेँ, ‘मिस शुक्ला यहीँ हो ?’ उसले व्यस्तता देखाउँदै अगाडिको कोठातिर इसारा गरेर भनी, ‘को हो, भेट्न आएका छन् !’ खुला झ्याल भएको कोठामा दुइटा बेड थिए । एउटामा केबल कम्बल थियो । अर्कोमा एक युवती काँधमाथि कपाल मिलाइरहेकी थिई । ऊ केही आत्तिएजस्तै देखिई । कपाल सम्हाल्दै भनी, ‘हजुर,..हो..हो..बस्नुस् ।’‘अनि स्वास्थ्य कस्तो छ ?’ मैले अति आश्वस्त भएर सोधेँ, ‘पत्र पढ्दा त लाग्थ्यो, तपाईं गम्भीरबिरामी हुनुहुन्छ ।’


‘हो, यहाँ बिरामी नै त आउँछन्’, उसको संक्षिप्त जवाफले मलाई खुबै अप्ठ्यारो लागिरहेको थियो । ऊ अर्कोतिर मुख फर्काएर भर्खरै आएको बन्द खामतिर हेरिरहेकी थिई । मैले सोचेँ, घरबाट पत्र आएको हुँदो हो । ‘पहिले पढ्नुहोला । त्यसै पनि तपाईंहरू पत्रकै प्रतीक्षामा हुनुहुन्छ होला, एक्लै बस्दा बस्दा ।’केहीबेर चुपचाप बसेर उसले अलि जोड दिएर भनी, ‘हेर्नुस्, तपाईं मलाई जो ठानिरहनुभएको छ, म त्यो होइन ।’ 


म साँच्चीकै असमञ्जसमा परेँ । ‘सरी, मिस शुक्लाको कोठा कुनचाहिँ हो ?’ ‘ऊ त्यहाँ भित्र अनारको रस निकाल्दै छे,’ उसले पर्दाको घेरातिर इसारा गरी र भनी, ‘सुन त, उहाँ आउनुभएको छ ।’‘को हो ?’ भित्रबाट आवाज आयो, ‘यो, अलिकति बाँकी छ ।’‘बाहिर त आऊ ।’ यसपालि चिसो हात तौलियामा पुछ्दै स्वास्थ देखिने केटी बाहिर आएपछि म उठेँ । उसले अपरिचित भावमा सोधी, ‘तपाईं… को हो ?’

‘म..म, तपाईं मिस शुक्ला होइन ? तपाईंले मेरो चिठी पाउनुभएन ?’ म केही हडबडाएर बोलेँ ।‘ऊ..त्यहाँ बसिरहेकी छ नि,’ उसले बेडमा बसिरहेकी केटीतर्फ इसारा गरी, ‘बिहान मात्र भनेकी थिई, आज तपाईं आउनुहुन्छ । चिठी देखेको थिएँ ।’ उसले अगाडि गएर बसेकी केटीको सिरानीबाट मेरो चिठी निकालेर देखाई । म फेरि बसेकी केटीतिर फर्किएँ ।‘हजुर, मिस शुक्ला उही हो ।’बसेकी केटीले झर्केर भनी, ‘कीर्ति, के ठट्टागरेकी यस्तो ?’

यसपालि स्वस्थवाली केटी भित्र गएर अनारको रस, चिनीको गिलास आदि लिएर बाहिर आई । भनी, ‘हेर्नुस् राजेन्द्रजी, यसले बिहानैदेखि मलाई उसको साटो तपाईंसँग कुरा गर्न भनिरहेकी थिई । पत्र लेख्नु एउटा कुरा हो, उहाँसँग कुरा गर्न मलाई अप्ठेरो छ भनिरहेकी थिई । कीर्ति त ऊ नै हो ।’नं १ ले भनी, ‘यो झुट बोल्छे । यही कीर्ति हो ।’‘अँ, उहाँको कार्ड मसँग थियो नि ?’ नम्बर २ ले भनी, ‘भन्नुहुन्छ भने तपाईंको चिठी र किताब निकालुँ उसको -याकबाट ?’ ऊ आलमारी खोल्न गई, ‘अब कस्तो मरेजस्तो मुख बनाएर बसेकी छ, देख्नु भो ?’

‘जाऊ, उता जाऊ’, नम्बर १ ले उसलाई रोकी । अब मलाई पनि हाँसो लाग्यो । अचम्मको ठट्टा गर्दै छन् केटीहरू ! सबभन्दा ठट्टा त के भने दुवैजना बिरामीझैँ लाग्दैनन् । कमसे कम त्यस्तो त लाग्दै लाग्दैनन् जस्तो पत्रमा लेखिएको आधारमा मैले अनुमान गरेको थिएँ । अब नम्बर २ पनि पलङमा गएर बसी र भनी, ‘यहाँ कुनै पनि कुरा खान सोध्नुपर्दैन । त्यसो भए, तपाईं आफैँ चिन्नुस् हामीमध्ये कुनचाहिँ कीर्ति हो । कि दुवैलाई एकैजना ठान्नुस् ।’

म साँच्चीकै हैरान भएँ । गहिरेर नहेरीकनै म त्यस्तो सुराक खोज्न थालेँ कि त्यस नामसँग कुनै एकजनालाई जोडिदिऊँ । बिरामी नं १ बढी सम्भावित थिई । ऊ सोझी पनि देखिन्थी । दुवैजना कहिले एक–अर्कालाई हेरेर हाँस्थे । कहिले मेरो प्रयत्नलाई हेरेर । यो त निश्चित थियो, षड्यन्त्रको जाल पहिल्यै बुनिएको थियो ।

दुवै उत्तर प्रदेशवाली थिए । उही उमेरका । त्यो दिन मलाई कतिबेरसम्म तिनले हैरान पार्नेवाला थिए कुन्नि, तर एकैछिनमा महिला कर्मचारी आएर नं २ सँग भनी, ‘शुक्ला दिदी, अफिसमा खबर पुगेको छैन ।’ तब ऊ नं १ तर्फ इसारा गर्दै हाँसी, ‘शुक्ला दिदी त त्यहाँ बसेकी छ अगाडि । मलाई के भन्छ्यौ ? उसैलाई भन न..।’ कर्मचारीले अर्कीतिर हेरी । हामी सबै पेट मिची–मिची हाँस्यौँ ।

कीर्तिले कुनै कुरा बढाएर लेखेकी थिइन । ऊ साँच्चीकै बिरामी थिई । उसको एउटा फोक्सोको अपरेसन हुनेवाला थियो । तर, मलाई लाग्यो, रोगले उसलाई कुनै हानि गर्न सक्दैन । जाने वेला मैले भनेँ, ‘तिमी अवश्य ठीक हुन्छ्यौ । रोगलाई पनि सायद यसैगरी बहकाएर छिमेकीको पोल्टामा राखिदिन्छ्यौ ।’ ‘अर्थात् तपाईं बिरामी हुनुहुन्छ !’ उसको हाँसो धेरै बेरसम्म, सायद आजसम्मै गुन्जँदै छ ।यी प्रसंग सुनेर दिदी खुब हाँसिन् । ‘मानिसहरू तिमीलाई बेवकुफ बनाउँछन् । बल्ल तिमी ठीकठाउँमा आउँछौ ।’

२.
एक दिन अचानक एउटा चिठी पाउँदा म आकाशबाट खसेझैँ भएँ । यस्तो धक्का आजसम्म मलाई कुनै पनि पत्र पढ्दा लागेको थिएन । गुजराती मिश्रित हिन्दीमा लेखिएको थियो, ‘मैले तपाईंको ‘कुलटा’ पढेँ । मेरो पति पनि नपुंशक छन् । तर, मलाई बच्चा चाहिएको छ । तपाईं मलाई भेट्न चाहनुहुन्छ ?’ मभित्र बम फुट्यो ।

यो के हो ? अवश्य यसपालि कसैले बदमासी गरेको हो । राकेश, दुष्यन्त, कमलेश्वर सबै आश्चर्यचकित भए । म स्वयं मानौँ घुम्ने कुनै कुर्सीमा बसेर रिङिरहेको थिएँ । बारम्बार खाम, लेखाइ र अक्षरको बुनोट जाँचेर हेरेँ । जवाफ दिऊँ वा चुपचाप बसूँ ! हुन सक्छ, दोस्रो पत्र आओस् । त्यसबारे त कसैसँग कुरा गर्न सक्ने छैन ।

बहुत सावधानीवशः निख्लो औपचारिक कुरा पनि गर्न सक्ने छैन । भित्र कतै अविश्वास थियो र डर पनि । के कुनै केटी पहिलो पत्रमै यस्तो लेख्न सक्छन् ? यो आफ्नो दायराभन्दा बाहिर निस्कने छटपटाहट हो वा रचना पढेर लेखकलाई आवश्यकभन्दा बढी विश्वास गर्दाको दृष्टान्त ? ठाकुर साहेबले सुनेको भए भन्ने थिए, ‘मूर्ख, तँ भाडाको साँढे होस् कि क्या हो ?’


मेरो जवाफी पत्रको जुन उत्तर आयो, त्यो केवल मेरो लेखनको प्रभावको भावुक बखान थियो । साथमा थियो एउटा सानो तस्बिर । उमेर त्यस्तै पच्चीस, छब्बीसभन्दा बढी थिएन । पुरानी रमोलासँग मिल्दोजुल्दो नापनक्सा । तेस्रो, चौथो पत्रबाटै घर आउने निमन्त्रणापूर्ण आग्रह । तय भयो, बम्बईबाट फर्कंदा एक दिनका लागि आउँछु । बिहान ६ बजे जो सज्जन स्टेसनमा आएका थिए, ती उसका पति थिए । परम विनम्र, सुदर्शन युवक ।

मलाई यसरी लिएर गए मानौँ देवतालाई लगिरहेका छन् । बैंकका सानातिना कर्मचारी थिए । दुई कोठाको फ्लाट, तर अत्यन्त सम्मानपूर्ण आत्मीयता । पति–पत्नीबीच त्यस्तो कुनै तनाव भएजस्तो मलाई लागेन जुन यस्तो स्थितिमा हुनु स्वाभाविक थियो । बारम्बार चिया, खाना खाने आग्रह गर्दै उसले कति संघर्ष गरेर घरका एक–एक सामान जोडेँ भन्ने प्रसंग उप्काइरही । पति मितभाषी थिए । ‘अहिले दुई घन्टामा हाजिर गरेर आउँछु’ भन्दै उनी गएपछि माला यस्तरी उत्ताउली भई मानौँ वर्षौंदेखि परिचित थिई । गलामा हात राखेर बारम्बार चुम्न थाली । उसले घरको काम गरेको हेर्दा यस्तो लाग्थ्यो मानौँ सब कुरा मञ्चमा प्रदर्शन भइरहेको छ ।

सपनाको अवास्तविक दुनियाँजस्तो । कहिले पारेख (पति)प्रति दया जाग्थ्यो कि बिचरालाई यो नेपथ्यको नाटकबारे केही थाहा छैन । कहिले तिनको गहिरो आत्मीयता देख्दा दुवैको सल्लाहमा त यो भइरहेको छैन भन्ने पनि लाग्थ्यो । मलाई सिर्फ प्रयोग गरेर छाडिनेछ । सायद कसैलाई पत्तो पनि हुने छैन । डेढ दिन खातिरदारी गराएर फर्किएँ । दुवैजना असाध्य कृतज्ञ भएर स्टेसनसम्म छाड्न आए । दुइटा पत्रपछि हामीबीच संवाद बन्द भयो । आज म आफैँलाई विश्वास गर्न गाह्रो हुन्छ, त्यो घटना सम्झँदा । कहिले त त्यो मेरो फ्यान्टासी मात्र थियो कि जस्तो लागेर आउँछ । 

त्यसवेलासम्म दिदी, मीता, स्नेह सबैसँग मेरो मैत्री भावात्मक थियो र शरीर कहीँ थिएन । स्त्री शरीरलाई बुझ्ने उद्दाम लालसाले नै त कतै यो सपना निर्माण गरेको थिएन, जुन आज मलाई कहिले वास्तविक लाग्छ, कहिले काल्पनिक ? मनमा बसेकी रमोलाले नै मालाको रूप धारण गरेकी हुँदी हो । हो, मन्नुले यस घटनामाथि अवश्य एउटा कथा लेखिन्, ‘तेस्रो मान्छे’ । बिहेपछि म त्यतिकै यसबारे यदाकदा चर्चा गर्थें । अथवा मन्नुले पत्र वा फोटो हेरेकी थिइन् कि ! सुरु–सुरुमा ‘जे भइसकेको छ, त्यसलाई फर्काउन सकिन्न’ भन्ने क्षमाभाव थियो । पहिला त खुबै रिसाइन् । पछि हाँसी हाँसी सबैको सामु मलाई उडाउन थालिन्, ‘होस्, पत्र–सत्रको कुरा त केही छैन, तर उहाँ त सीधै त्यहीँ पुग्नुहुन्छ ।’

मन्नुको विद्रोह त तब सुरु भयो जब उनलाई लाग्यो, म प्रकाशकसँग एडभान्स लिएर मीतासँग पहाडतिर डुल्न जान्छु । मर्न र खट्नलाई मन्नु, मोजमस्ती गर्नलाई मीता…! म आज स्वीकार गर्छु, मन्नुप्रति यो मेरो अन्याय थियो र अपराध पनि ।

मैले दिदीसँग कहिल्यै यस घटनाको चर्चा जानी, बुझी गरिनँ । मेरो मित्रताप्रति दिदीसहित राकेश अचम्मको उचाइ र समझदारीसाथ मुस्कुराउँथे । मानौँ, भनिरहेका छन्, शारीरिक अपांगताले उत्पन्न हीनताग्रन्थिमा यस्तो जितले नै आत्मविश्वास कायम राख्न सक्छ । पहिला त वास्तविकता नबुझी मित्रता सुरु हुन्छ । वास्तविकता खुलेपछि बराबर मैत्रीको स्थानमा दया र कुण्ठासँग जोडेर हेर्ने गरिन्छ । रिस, प्रेम वा प्रतिभासम्म पनि सामान्य व्यवहारका रूपमा हेरिन्न । ‘अनदेखे, अनजान पुल’ सायद स्वीकृतिको आकांक्षामा यही हीनताबोधले उब्जेको कथा हो । निश्चय पनि राकेश, दिदी र मन्नुले मलाई यस जञ्जालबाट छुटाउन निकै सहयोग गरे । सत्य के हो भने, यी दुईसँग भेट हुनुअघि खुलेआम मेरा कुनै महिला साथी थिएनन् । सिर्फ गदा–पच्चीसी उमेरमा ‘मित्र बहिनी’हरू थिए ।

३.
एकपल्ट मन्नु र म बम्बईबाट सेकेन्ड क्लास रेल्वे टिकटमा फर्किरहेका थियौँ । सहनै नसकिने अजीवको गुम्फन, गर्मी र छटपटाहट थियो । सायद बदौडाको आसपास थियो त्यो ठाउँ । टाउकाको पसिना आँखामा छिरिरहेको थियो । मनमा कस्तो सवाल उठ्यो भने, यस्तो वेला मनलाई निस्संग गर्न सकिएला ? योगी–सन्न्यासी मनलाई कसरी नियन्त्रण गर्थे होलान् ? त्यसैवेला डिब्बामा कसैले ट्रान्जिस्टर खोलिदियो । गाना बज्न थाल्यो, ‘बिन्दिया चमकेगी, चुडिया खनकेगी ।’

आजसम्म पनि मैले बुझ्न सकिनँ, यो चालू गीतमा त्यस्तो के थियो जुन सुन्दा मेरा आँखाबाट धरधरी आँसु बग्न थाल्यो । म सारा गर्मी र गुम्फनबाट निस्तार भइसकेको थिएँ । धेरै पछिसम्म जब–जब म यो गीत सुन्थेँ, त्यही डिब्बाको दृश्य साकार हुन्थ्यो र मेरा आँखा भरिन्थ्यो । त्योवेला र पछिसम्म मन्नु सधैँ यही भन्थिन् कि त्यस गीतमा मीताको कुनै प्रसंग जोडिएको हुनुपर्छ जसले मलाई भावुक बनाउँथ्यो । इमानदारीसाथ भनुँ भने त्यो वेला कहीँ कोही थिएन । मात्र त्यो मुक्तिको क्षण थियो । चलिरहेको रेलको डिब्बा, भयानक यन्त्रणादायक गर्मी र समय प्रवाहबाट अलगिएको त्यो गीतको क्षण– सबै सबै आज पनि मलाई व्यञ्जनापूर्ण लाग्छ । 

४.
के म पनि आज मन्नुको कमाइमाथि सुख सुविधा भोगिरहेको छु ? के मैले पनि त्यो स्थिति चुपचाप स्वीकार गरिसकेको हुँ ? म आफैँलाई अक्सर यस्तो सोध्थेँ । यस मामलामा उनी हुनसम्म अचम्भित हुन्थिन् । परिचित र नातेदारसामु उनी मेरो अहम्को रक्षा निकै चतु-याइँपूर्वक गर्थिन् । म पनि आफैँलाई सम्झाउँथेँ, एक्लै हुँदा पनि चलेकै थियो । टिंकुको हेरचाहदेखि घरको हरेक जिम्मेवारी उनले निर्वाह गरिन् ।

कलेज, ट्युसन र टिंकु, फेरि आफ्नो लेखन, पाहुना–पासाको आगमन, सबैको जिम्मा उनैको त थियो ! मन्नुको विद्रोह त तब सुरु भयो जब उनलाई लाग्यो, म हरेक किसिमको जिम्मेवारीबाट हात झड्कार्दै अलग हुन्छु र त्यसमै सहज हुन्छु । घरका लागि पैसा हुँदैन, तर प्रकाशकसँग एडभान्स लिएर मीतासँग पहाडतिर डुल्न जान्छु । मर्न र खट्नलाई मन्नु, मोजमस्ती गर्नलाई मीता…! म आज स्वीकार गर्छु, मन्नुप्रति यो मेरो अन्याय थियो र अपराध पनि । तर, सायद म घरेलु व्यवहारका लागि बनेको मान्छे नै थिइनँ । यस्तो खालको सुखसुविधामा अभ्यस्त पनि थिइनँ । त्यहाँबाट बारम्बार भाग्नु पनि सायद कहीँ मेरो विद्रोह थियो । 

एक दिन अचानक एउटा चिठी पाएँ । लेखिएको थियो, ‘मैले तपाईंको ‘कुलटा’ पढेँ । मेरो पति पनि नपुंशक छन् । तर, मलाई बच्चा चाहिएको छ । तपाईं मलाई भेट्न चाहनुहुन्छ ?’

मन्नु सोझी, सरल र सहज विश्वासी केटी थिइन् । घरका लागि उनको सपना त्यही थियो जो उनका भाइ, बहिनीले कल्पना गर्थे । बच्चा, घर र पत्नीप्रति समर्पित पति । यस्तै परिवारको मित्रता । आफ्नो दायराबाहिर न तिनको कुनै रुचि थियो न प्रतिबद्धता । म आफ्नो बदमासीमार्फत बारम्बार यो विश्वासलाई भत्काइरहेको थिएँ । आफ्ना साथी र परिचितहरूको नजरमा लगभग खलनायक भइसकेको थिएँ ।

नातेदारको सहानुभूति त मन्नुसँगै थियो, मेरा सारा साथी पनि मन्नुसँगै घनिष्ट र आत्मीय भएका थिए, जसका कारण सुरुमा पारिवारिक तनाव हुन्थ्यो । दिदी, सविताजी, सतवन्त, संयुक्ता, निर्मलाजी, शर्मा परिवार, राकेश, जवाहर चौधरी, सत्येन्द्र शरत र कहाँसम्म भने छोरी रचना पनि । म लगभग एक्लो हुँदै गइरहेको थिएँ । मसँग प्रतिकार गर्न मन्नु तिनैसँग निर्भर हुन्थिन् । कलकत्ता बसाइबाटै यो विभाजन सुरु भइसकेको थियो । तर, यी सब भित्री र आपसी लडाइँ थिए ।

बाहिरबाट हेर्दा मित्र र परिचितबीच सामाजिक जिन्दगी ‘सुखी’ नै थियो । दिनहुँ भेटघाट र खानपिन । त्यस फ्लाटमा राकेश, नामवर सिंह, भारती, दिनकर, अमृतलाल नागर, इलाचन्द्र जोशी, विष्णुकान्त शास्त्री, कल्याणमल लोढा, श्यामानन्द जालान सबै आउजाउ गर्थे । बाहिरबाट हेर्दा मन्नुको गृहस्थी सुखी र सन्तुष्ट थियो । छोरी रचना पनि जन्मेकी थिई । ती दिनमा मन्नु बहुत सहज भावमा कथा लेख्थिन् । यहीँबाट प्रभासँग मित्रता सुरु भएको थियो । प्रभा ती दिन एकदमै चम्किएकी थिइन् । अति संकोचसाथ मैले बस, ट्रामको भाडासमेत माग्नुपर्ने दिन थिए ती । यी सारा व्यवस्थाबीच भित्र गहिरो उदासी थियो । म त्यहाँ बिलकुलै निर्वासित थिएँ । 

कहीँ एउटी मीता थिई, तपस्वीजस्तै जीवन बिताइरहेकी । बिहेपछि मैले उसलाई भनेको थिएँ, ‘यस्तो ठान कि तिम्रो–मेरो साथ हाम्रो भाग्यमै लेखिएको थिएन । जब तिमीले सारा सम्बन्ध तोडेर मेरा पत्रहरू फर्काइदिएकी थियौ, अनि मैले बुझ्नु, भन त ? अब तिमी पनि बिहे गर ।’ उसले लगभग हकार्दै भनेकी थिई, ‘राजेन, तिमी विवाहित नहुन्जेल ममाथि तिम्रो अधिकार थियो । अब मेरो जीवन सिर्फ मेरो हो । म आफ्नै ढंगले बाँच्छु ।’ उसले बिहे गरिन । सिर्फ मभित्र अपराधबोध बनेर श्वास लिइरही । अपराधबोध मन्नुको मामलामा पनि हमेसा भइरह्यो । आज सामाजिक स्थिति वा स्वीकृत ‘पवित्र’ मूल्यलाई लिएर मभित्र जुन जिज्ञासा छ, के त्यो यही दोहोरो अपराधबोध नै त होइन ?

बौद्धिक र व्यक्तिगत स्तरमा ती सब कुरा मलाई असहज लाग्छन्, जसले जिन्दगीलाई बनिबनाउ ढर्रामा कैद गरेर सारा सम्भावनाको हत्या गर्छ । मलाई लाग्छ, आत्मसन्तुष्टिको दोहोरोपनले भरिभराउ सहानुभूति र सहिष्णुताले सुधार्न र बुझ्न कोसिस गरेँ, फेरि विरोध र विद्रोह सुरु भयो । कुरा यहाँसम्म पुग्यो कि मन्नु मेरा हरेक चिज र विचारको विरोधी बन्दै गइन्, जसलाई कुनै दिन उनी मेरो क्रान्तिकारी मौलिकता, सबभन्दा फरक भएर नयाँ तरिकाले सोच्ने दृष्टि भनी गर्व गर्थिन् ।

आज यी सब उनलाई मेरो लम्पटताको विस्तार, चर्चामा रहिरहने हथकन्डा र वैचारिक भ्रष्टाचार लाग्छ । उनलाई न मैले लेखेको मन पर्छ, न मेरा साथीहरू । उनलाई ती सबै कुराले चिढाउँछन् जहाँ म सहज र आफ्नोपन महसुस गर्छु । हुन सक्छ, यही प्रतिक्रियामा उनी अझै बढी यथास्थितिवादी बन्दै गइरहेकी छन् । इमानदारीसाथ भन्छु, आज म उनलाई धेरै गलत पनि मान्दिनँ । मेरा हर संकटमा कसरी उनी मसँगै उभिएकी थिइन्, यो कुरा म कदापि भुल्न सक्दिनँ ।

(नयाँ पत्रिका दैनिकबाट साभार)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेलको सहमति हुँदै

आइओएमको एमबिबिएस सिट बढाईयो तर कर्मचारीका छोराछोरी मात्र पढाउन

विवेकशीलका चर्चितहरु बाहिरिएपछि नयाँले ठाँउ पाए

विद्यालय नै असुरक्षित, बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394