• /
    बिहिबार, कार्तिक ७, २०७६

स्क्रिन एडिक्सन बालबालिकाको दुस्मन

‘मेरो बच्चा त के भा’को, मोबाइल नभई खानै मान्दैन भन्या ।’ एक सामाजिक समारोहमा जम्मा भएका केही महिला गफिँदै छन्, अर्कीले थपिन्– ‘त्यति मात्रै होर, मेरी छोरी त झन् मोबाइल दिउँला नभनेसम्म होमवर्क नै गर्दिन भन्या ।’ 

गफको क्रम लम्बिँदै जान्छ । अर्कीले थप्छिन्– ‘हो बाई, के भएको अचेलका बच्चालाई, मेरो बाबु  दुई वर्ष पुगेको छैन, बाबाको मोबाइलमा सबै फिचर लगाइदिन्छ भन्या !’  ६–७ जनाको समूहमा बसेका महिलाको छेउमै बालबालिकासँगै रहेका एकाध पुरुष पनि ती महिलाको कुराप्रति आकर्षित भए । 

एकजना बोले– ‘काँ त्यति मात्र हो र मेडम, ६ वर्षकी मेरी छोरीलाई मैले पोडमा कहिल्यै जितिनँ, ऊ त अचेल टिकटकको नायिका नै भइसकी । अफिसबाट घर पुग्नु मात्र पर्छ, मोबाइल छोरीकै कब्जामा हुन्छ ।’ 

बाबुआमालाई गर्व वा आश्चर्य लाग्ने बालबालिकाको यो बानीको परिणाम भने सकारात्मक नहुने मनोविद्हरू बताउँछन् । ‘केटाकेटीका यस्ता बानीले आज हामी जति गदगद हुन्छाैं, भोली त्यति नै थकथक हुन सक्छ,’ मनोविद् गोपाल ढकालले भने । 

आधुनिक र सहरिया बालबालिका मोबाइल, आइप्याड, ट्याब, ल्यापटप, टेलिभिजनजस्ता ग्याजेटप्रति हुरुक्क हुँदै गएको दृष्टान्त सुनाउँदै मनोविद्् ढकालले भने, ‘यो समस्याकै रूपमा देखिन थालेको छ ।’ उनले दृष्टान्त सुनाए– ‘एक जोडी अभिभावकले सात वर्षको बालक मकहाँ लिएर आउनुभयो । बच्चा शारिरिक रूपमा दुब्लो र मानसिक रूपमा एकसुरे भइसकेको थियो । मोबाइल नभई बस्नै नमान्ने, आमाबुवाले बोलाउँदा पनि नसुन्ने वा न टेर्ने, खाना खान, स्कुल जान रुचि नै नगर्ने । त्यसो भएपछि उसलाई मकहाँ ल्याइएको थियो । त्यो बच्चामा ग्याजेटले पार्ने प्रभाव परिसकेको पाएँ । अहिले ऊ मनोपरामर्शमै छ । आँखा र कान पनि कमजोर भएकाले त्यसको उपचार अस्पतालमा गराइएको छ ।’

स्क्रिन एडिक्सन भइसकेपछि बालबालिकाको सिर्जनशीलता मर्छ । सोच्ने शक्ति कमजोर बन्छ । व्यावहारिक रहँदैन । झर्कोफर्को व्यवहार देखाउँछ । जिद्दी र एकसुरे हुन्छ । सानो समस्यालाई पनि ठूलो रूपमा लिन्छ । जिद्दीपन बढ्दै जान्छ, कतिपयमा डिप्रेसन हुन्छ, आत्महत्या र अपराधको मनोवृत्ति बढ्छ ।

आमाबाबु, काकाकाकी, दाजुदिदी वा पाहुना नै आए पनि बालबालिकाले मोबाइल मागेर चलाउँदा हामी त्यति वास्ता गर्दैनौँ भने यो निकै घातक हुने बताउँछन् मनोविद् ढकाल । ‘यस्तो बानीलाई मेरो बच्चा क्या स्मार्ट छ भन्छौँ,’ उनले भने, ‘हो हामी अभिभावकहरू त्यहीँनेर चुकिरहेका हुन्छौँ ।’

बालबालिकामा ग्याजेटले पारेको दुस्प्रभाव निकै विकराल बन्दै गएको देखेकी छिन् मनोविद्् डा. गंगा पाठकले । ६ कक्षामा पढिरहेको १२ वर्षको बालकलाई डा. पाठकले तीन महिनादेखि थेरापी र मनोपरामर्श गरिरहेकी छिन् । 

डा. पाठकले बच्चाको अवस्था बयान गरिन्– 
एकोहोरिरहने, वेला–वेलामा निकै आक्रोशित हुने, जिद्दी, मागेको कुरा हुनैपर्ने, त्यतिसम्म त आमाबुबाले ‘बच्चा हो, यस्तै हो’ भनेर वास्ता गरेनन् । जब बच्चाले पढेको कुरा सम्झनै छोड्यो, आज स्कुलमा के खाजा खाएँ भनेर पनि याद गर्न सकेन, ध्यान केन्द्रित गर्नै नसक्ने हुँदै गयो । राम्रै पढ्ने बच्चा पढाइमै फेल भएपछि त्यसबाट उम्काउने उपाय बल्ल आमाबुबाले खोजी गरे ।

‘उसमा ‘स्क्रिन एडिक्सन’ भइसकेको छ । यो निकै घातक समस्या हो । यो त रक्सी, चरेस, कोकिनको लतभन्दा पनि कडा हुन्छ,’ पाठकले भनिन्, ‘यसबाट बालबालिकालाई छुटकारा दिलाउन निकै समय लाग्छ ।’ मनोविद्् पाठकका अनुसार बालबालिकामा स्क्रिन एडिक्सन भइसकेपछि उसको सिर्जनशीलता मर्छ । सोच्ने शक्ति कमजोर बन्छ । व्यावहारिक रहँदैन । झर्कोफर्को व्यवहार देखाउँछ । जिद्दी र एकसुरे हुन्छ । सानो समस्यालाई पनि ठूलो रूपमा लिन्छ ।

उनले दृष्टान्त पेस गरिन्– 
सानो हुँदा निकै मिजासिलो, तीक्ष्ण र पढन्ते भनिएको बालक यतिवेला १४ वर्षको भएपछि मेरो सम्पर्कमा आएको छ । आमा पसल गर्ने, बुवाको जागिर । अबेर घर आउनुपर्ने कारणले बालक सात, आठ वर्षको हुँदादेखि आइप्याड लिएर घरमै थुनेर राखियो । उसले कार्टुन यति धेरै हेरेछ कि उसको बोलीको शैली र हिँडाइ नै कार्टुनका पात्रजस्तो भयो । 

‘उसलाई हामीले क्रियटिभ थेरापी र काउन्सिलिङ गरायौँ, ऐना अगाडि उभ्याएर बोल्न लगायौँ, स्टोरी भन्न र सुन्न लगायौँ,’ मनोविद् पाठकले भनिन्, ‘उसको हिँड्ने शैली स्वाभाविक बनाइयो, आवाज अझै पनि सुधार हुन बाँकी छ ।’ आमाबुवाको व्यस्तताका कारण मोबाइल, ल्यापटप, आइप्याड आदि दिएर बालबालिकाबाट छुटकारा पाउने मनसाय, एकछिन हेर्दा के फरक पर्छ र ? भन्ने सोच, यसको प्रभाव र ग्याजेटप्रति बालबालिकाको लगावप्रति गरिएको बेवास्ताले बालबालिकाको शारीरिक र मानसिक अवस्था निकै खराब हुँदै गएको डा. पाठकले देखेकी छिन् ।   

उनले अर्को उदाहरण पेस गरिन्–
यतिवेला म अर्को १२ वर्षको बालक मेरो थेरापी र मनोपरामर्शमा छ । घरमा निकै भल्गर शब्द बोल्ने, बाबुआमासँगै झगडा गर्दै हाम फालेर मरिदिन्छु भनेर छतमा कुद्ने गरेपछि उसलाई मकहाँ ल्याइयो । जागिरे आमा र व्यापारी बुवाले आफूलाई समय निकाल्न उसलाई ग्याजेटमा भुलाए । विभिन्न साइट हेर्दाहेर्दै ऊ पोर्नोग्राफीसम्म हेर्न पुगेछ । सँगै हेर्ने साथी पनि बनाएछ । बाहिर गएर हुक्कासम्म तानेछ । त्यो कुरा आमाबुबाले थाहा पाउँदा ढिला भइसकेको थियो । अनि ऊ घुक्र्याउने, हामफाल्ने धम्की दिन थाल्यो । त्यो सबै कारण स्क्रिन एडिक्सन थियो । 

बालबालिकामा स्क्रिन एडिक्सनले पार्ने दुस्प्रभाव के त ? मनोविद् डा. पाठक भन्छिन्, ‘वेलैमा ध्यान दिइएन भने यसको दुस्परिणाम भयावह हुन्छ । बालबालिकाको सिर्जनशीलता ह्रास हुन्छ, पढाइदेखि कुनै कुरामा ध्यान केन्द्रित गर्न सक्दैन, विभिन्न मानसिक समस्याले गाँज्दै लान्छ, अभिभावकलाई धम्क्याउने, झर्कने गर्छन्, जिद्दीपन बढ्दै जान्छ, कतिपयमा डिप्रेसन हुन्छ, आत्महत्या र अपराधको मनोवृत्ति बढ्छ, पर्सनालिटी डिस्अर्डरको समस्या देखिन्छ, सामाजिक व्यवहार कमजोर हुन्छ, अनुशासनहीनता बढ्छ, जिम्मेवार नागरिक बन्न सक्दैन ।’ ग्याजेटको दुस्प्रभावबाट हुने स्क्रिन एडिक्सनबाट उम्काउने उपाय पनि त होलान् ? 

आमाबुवालाई समय चाहिँदा वा बालबालिकालाई भुलाउनकै लागि स्क्रिनको एडिक्ट बनाउनुभएन । आजको बालबालिका खराब भयो भने भोलिको देशै बर्बाद हुन्छ भन्ने कुरा सरकारले पनि बुझ्नुपर्छ ।

‘पक्कै छन्, त्यसका लागि अभिभावक सचेत हुनु पहिलो सर्त हो,’ मनोविद् पाठकले भनिन्, ‘बालबालिकालाई के फरक पर्छ र भनेर ग्याजेट दिनु हुँदैन, यसको एडिक्सन अन्य लतभन्दा धेरै गुणा चाँडो बस्छ, बालबालिका जिज्ञासु हुन्छन्, नयाँ कुरासँग बढी चाँडो आकर्षित हुन्छन्, बालबालिकालाई सबैभन्दा ठूलो कुरा अभिभावकको समय हो, समय दिनुपर्छ, सँगै घुमाउने, वेलावेला हाइकिङ लग्ने, खोला, पहाड, हरियाली वा प्रकृतिको संसर्गमा ल्याउनुपर्छ । उनीहरूलाई सिर्जनशील काम गर्न लगाउनुपर्छ । कथा भन्ने, सुन्ने बानीको विकास गर्नुपर्छ । यसले ग्याजेटको दुस्प्रभावबाट बचाउन सकिन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै इन्टरनेटको लतलाई रोगकै रूपमा परिभाषित गरिसकेको छ । त्यसैले, यसको लतलाई पनि यो रोग हो भनेर अभिभावकले लिनुपर्ने आवश्यकता देख्छन् मनोविद् गोपाल ढकाल  । तर, बच्चालाई फकाउनु परे पनि मोबाइल, आइप्याड दिएर उल्टै रोगी बनाइरहेको देख्छन् ढकाल । उनले आधुनिक शिक्षाको नाममा पनि विद्यालयहरूले लगत शिक्षा पद्धतिको विकास गरेको जिकिर गरे । स्मार्ट शिक्षा पद्धतिका नाममा भिडियो देखाएर पढाउन थालिएको छ । भर्चुअल पद्धतिमा पढाउँदा, खेल्दै, हेर्दै, सिक्दै गर्छ भन्ने परेको छ । तर, त्यसले बालमनोविज्ञानमा झन् नराम्रो असर गरिरहेको उनी देख्छन् । ‘बरु हामी बालबालिकालाई प्रत्यक्ष खेलाएर, गर्न लगाएर पढाउन सक्छौँ,’ उनले भने, ‘यसले हात खुट्टाको मोसन हुन्छ । सिर्जनशीलता बढ्छ ।’  खेल्दा, लड्दा, उठ्दा, कुद्दा, सुत्दा, बस्दा बालबालिकाको शारीरिक र मानसिक विकासमा प्राकृतिक रूपमा मद्दत पुग्ने मनोविद् ढकाल बताउँछन् । साथीसाथीसँग खेल्दा, बोल्दा, चिच्याउँदा, रुँदा उसको भाषिक र सामाजिक विकास हुने उनी देख्छन् । 

‘ग्याजेटको लतमा परेको बालबालिका समाजमा कसैसँग मिल्न नसक्ने, झगडालु हुने, डराउने, तर्सिने, अन्तर्मुखी, एकांकी हुँदै जाने हुन्छ,’ ढकालले भने, ‘विस्तारै डर, चिन्ता, डिप्रेसन र ध्यान केन्द्रित गर्न नसक्ने अति चञ्चले (एडिएचडी) जस्ता समस्या बालबालिकामा देखिन सक्छन् ।’

यी सबै जोखिमबाट जोगाउन परिवारसँगै राज्यको पनि दायित्व देख्छिन्, मनोविद् डा. गंगा पाठक । ‘आमाबुवालाई समय चाहिँदा वा बालबालिकालाई भुलाउने निहुमा स्क्रिनको एडिक्ट बनाउनु भएन,’ डा. पाठकले भनिन्, ‘देशमा आजको बालबालिका खराब भयो भने भोलिको देशै बर्बाद हुन्छ भन्ने कुरा राज्यले पनि बुझ्नुपर्छ ।’ त्यसका लागि गर्ने के त ? 

अहिलेको समाज एकांकी बन्दै गएको छ । परिवार एकल र टुक्रे हुँदै गएका छन् । ‘पहिलाजस्तो बाजेबज्यै, काकाकाकीसहितको संयुक्त परिवारमा अहिलेको बालबालिका हुर्कन पाएको छैन, सहरिया परिवेशमा घुम्ने, खेल्ने, उफ्रने ठाउँ साँघुरिएको छ,’ डा. पाठकले भनिन्, ‘आजको बालबालिका भोलिको भविष्य हो भने, भविष्य सुधार्ने जिम्मा त राज्यको पनि हो नि ? खोई त राज्यले सहरका विभिन्न स्थानमा बाल क्लब, बाल उद्यान, बाल पुस्तकालय, बालबालिकाको खेल मैदान, बनाएको ? सहर त बनेका छन् तर बालबालिकामैत्री सहर कतै पनि परिकल्पना गरिएको छैन । शिक्षा र स्वास्थ्य मन्त्रालयले सोच्नुपर्दैन ?’ 

शिक्षा पद्धति गलत छ : गोपाल ढकाल मनोविद्

स्मार्ट शिक्षा पद्धतिका नाममा भिडियो देखाएर पढाउन थालिएको छ । भर्चुअल पद्धतिमा पढाउँदा, खेल्दै, हेर्दै, सिक्दै गर्छ भन्ने तर्क छ । तर, त्यसले बालमनोविज्ञानमा झन् नराम्रो असर गरिरहेको उनी देख्छन् । बरु हामी बालबालिकालाई प्रत्यक्ष खेलाएर, गर्न लगाएर पढाउन सक्छौँ । यसो गर्दा हात खुट्टाको मोसन हुन्छ । सिर्जनशीलता बढ्छ ।  खेल्दा, लड्दा, उठ्दा, कुद्दा, सुत्दा, बस्दा बालबालिकाको शारीरिक र मानसिक विकास हुन्छ ।

राज्य जिम्मेवार हुनुपर्छ : डा. गंगा पाठक मनोविद्

पहिलाजस्तो बाजेबज्यै, काकाकाकीसहितको संयुक्त परिवारमा अहिलेको बालबालिका हुर्कन पाएका छैनन्, सहरिया परिवेशमा ठाउँ साँघुरिएको छ । बालबालिको भविष्य हो भने, त्यो सुधार्ने जिम्मा त राज्यको पनि त हो नि ? खोइ त राज्यले सहरका विभिन्न स्थानमा बाल क्लब, बाल उद्यान, बाल पुस्तकालय, बालबालिकाको खेल मैदान, बनाएको ? सहर त बनेका छन् तर बालबालिकामैत्री सहर कतै पनि परिकल्पना गरिएको छैन ।

(नयाँपत्रिका दैनिकमा शिवराज याेगीकाे रिपाेर्ट)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*



भर्खरै view all

बार्सिलोनाको संघर्षपूर्ण जितमा फुटबल स्टार मेस्सीको नयाँ किर्तिमान

आफू भारतीय नागरिक नभएको सांसद देवेन्द्रराज कँडेलको दाबी

आजको राशिफल: कात्तिक ७ गत्ते कस्तो रहेको छ तपाईको दिन जान्नुहोस् !

मिलाइदिन्छु भन्दै पैसा लिने प्रहरी परे फन्दामा

श्रीमानले सम्बन्ध विच्छेदको प्रस्ताव राख्दा लि’ङ्ग चट्




फिचर स्टोरीshow all
It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.
Chief Editor/Chairman
Prabha Panthi

Third Pole Group Pvt. Ltd

Babarmahal, Kathmandu, Nepal

+977 014258394